काठमाडौं- कोभिड-१९ का कारण विदेशमा अध्ययनरत नेपाली चिकित्सा शिक्षाका धेरै विद्यार्थीले इन्टर्नसिप पूरा गर्न पाएका छैनन्। इन्टर्नसिप पूरा गर्न नपाएका यस्ता विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्।
चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरेका विद्यार्थीलाई यसपटक नेपालमै इन्टर्नसिपको व्यवस्था गर्ने भएको हो।
आयोगले इन्टर्नसिप सुरु भइसकेको अवस्थामा कोभिड-१९ का कारण नेपाल आएका र त्यसका कारण विदेशमा इन्टर्नसिप पूरा गर्न जान नसकेका विद्यार्थीका हकमा एक पटकका लागि नेपालमा नै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरेको हो।
यसका लागि आयोगले आवेदन खुला गरेको छ। आयोगले सार्वजनिक सूचना जारी गर्दै विद्यार्थीलाई आवेदन दिन भनेको छ। स्वदेशमै इन्टर्नसिप पूरा गर्न चाहने विद्यार्थीले साउन ४ गतेसम्म अनलाइन आवेदन दिन सक्ने छन्।
आवेदन दिन इच्छुक विद्यार्थीले स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, आफू अध्ययनरत कलेज विश्वविद्यालयमा गरेको इन्टर्नसिपको अवधि खुल्ने विवरण र इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमति पत्रसमेत समावेश गर्नुपर्ने आयोगले जनाएको छ।
साथै, आयोगले आवेदनमा माग गरिएका सबै कागजात समावेश हुनुपर्ने, समयमा फारम नभर्ने विद्यार्थीका लागि अर्को व्यवस्था नहुने र यो आवेदन अन्तिम एक पटकको लागि मात्र भएको पनि स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।