प्रतीकात्मक तस्वीर
दमक– तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट करिब साढे सात लाख रुपैयाँ नगदसहित ११ जनालाई पक्राउ गरेको छ। दमक–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मंगलबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।
प्रहरीले पक्राउ परेका साथबाट छ बुक ताससहित सात लाख ४५ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको उनले जानकारी दिए। यसरी पक्राउ पर्नेमा २९ वर्षीय घरधनी खतिवडासहित दमक–१ का ५४ वर्षीय नरेन्द्र थापा, सोही वडाका २३ वर्षीय नरेन्द्र लिम्बू, दमक–२ का ४३ वर्षीय हर्क धिमाल, दमक–६ का ३१ वर्षीय चन्द्र लिम्बू, दमक–७ का ४० वर्षीय कृष्ण खतिवडा, दमक–९ का ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ रहेका छन्।
त्यसैगरी, दमक–८ का ४४ वर्षीय पूर्णप्रकाश रिजाल, सोही वडाका २८ वर्षीय सुशन रिजाल, दमक–७ कै ३८ वर्षीय कुलराज खड्का र इलाम चुलाचुली–६ का ३७ वर्षीय हर्क लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।