काठमाडौं- जगदम्बा स्टिल्सका संस्थापक अध्यक्ष शंकरलाल अग्रावाले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता)को फ्याक्ट्रीको उद्घाटन गरेका छन्।
उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ। यस सीआरएम मिलको जटिल डिजाइन, जडान कार्य, कमिसनिङ यसै कम्पनीका भाइस् प्रेसिडेण्ट प्रभात मिश्राद्वारा गरिएको कम्पनीले जनाएको छ। उनी ग्याल्भालुम् तथा कलर कोटिङ उत्पादन प्रविधिमा विज्ञ हुन्।
जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्तापाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समय यता जानकारी दिँदै आएको थियो। जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुरामा कम्पनीले विश्वास व्यक्त गरेको छ।
विभिन्न रंगहरूको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो। नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युम लाइन प्रविधिबाट उत्पादन हुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्तापाताको तुलनामा अधिकतम मजबुत र टिकाउ हुने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।