काठमाडौं- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन्।
नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। ‘हामी नीति बाहिर जानुहुन्न,’शाक्यले भने, ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न पाइन्न। जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ।’
शाक्यले ‘कोभिड फ्रन्टलाइनर’हरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको बताए। ‘कार्टुन बनाएर मेरो प्रचार गरियो। उहाँहरुलाई व्यक्तिगतरुपमा धन्यवाद,’ शाक्यले भने, ‘तर, सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न।’
प्रमुख शाक्यले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको बताए। ‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु,’ शाक्यले भने, ‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु। त्यसैले मेयरलाई देखाइन्छिौँ भनेर नीति–नियमको उल्लङ्घन गरी योजनावद्द ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौँ।’
०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो।
महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ।
सर्वोच्चको आदेशलाई कार्यान्वय गर्दै विगतमा पनि त्यस्ता सागम्री हटाउने कार्य गरेको स्मरण गराउन चाहन्छु,’उनले भने, ‘पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि हामीले सर्वोच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो। त्यसबाट आयस्रोत त हुन्थ्यो नि हामीले नीति छैन भनेर दिएनौँ। त्यसैले सर्वोच्चको आदेश र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ।’
उनले यस अघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङलगायतका स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिए। ‘नीति सबैका लागि बराबर हुन्छ,’ शाक्यले भने, ‘पहिलो पटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भैरहेको छ। त्यो होइन, निधेष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिइ बनाएका त्यस्ता सामग्री हटाएका छौँ।’
‘सहकार्यबाट कोभिड फ्रन्टलाइनरको सम्मान’
उनले स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउन सहकार्य आवश्यक रहेको प्रष्ट पारे। ‘निधेष गरिएको स्थानमा कोरेको भित्तेचित्रले मात्रै उनीहरुको सम्मान हुँदैन। उहाँहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्छ। त्यो महानगरपालिकाले गरिरहेको छ,’ उनले भने ‘स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउनुपर्छ भनेर महानगरपालिकाले सक्दो सहयोग गरेको विदितै छ।’
काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र बाहिरका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ कार्य गरिरहेको छ।
उनले नेपाल सरकारद्वारा सञ्चालित विभिन्न कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन आवश्यक सहयोग गरेको स्मरण गराए। ‘स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन सरकारी र सामूदायिक अस्पतालमा हामीले आर्थिक, भौतिक, प्रविधिगत र प्रणाली विकास गर्ने कार्यमा सहयोग गरेका छौँ,’ उनले भने, ‘काठमाडौँ महानगर क्षेत्र भन्दा बाहिरका अस्पतालसँग समेत महानगरपालिकाले सहकार्य गरेर त्यहाँका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउने कार्य गरेको छ। त्यसैले हामीले कसरी उहाँहरुको सम्मानमा आघात पुग्ने काम गर्यौँ?’
शाक्यले महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएको स्वास्थ्य सामाग्री वीर अस्पताल, कान्तिवाल अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।