काठमाडौं- युरोकप फुटबलमा सट्टेबाजी खेल खेलाएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँबाट आठ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोलका ४७ वर्षीय जीवन लामा, वीरगञ्ज घर भई कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, भारत विहार घर भई कुलेश्वर नै बस्ने ४६ वर्षीय अशोककुमार गुप्ता, चितवन घर भई धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, भारत हरियाना घर भई इन्द्रचोक बस्ने ४९ वर्षीय राजेशकुमार अग्रवाल, भारत राजस्थान घर भई क्षेत्रपाटी बस्ने ३३ वर्षीय सूचित डालमिया अग्रवाल र मोरङ घर भई काठमाडौं मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्ता छन्।
हारजितको ठूलो रकमको बाजी राख्न लगाई सट्टेबाजी खेलाउने गरेको भन्ने सूचनाका आधामार खटिएको टोलीले उनीहरुलाई अनलाइन बेटिङ गरी नगद कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
हाल सञ्चालन भइरहेको युरोकपसँगै कोपा अमेरिका फुटबलमा खेलमा अनलाइनमार्फत् उनीहरुले सट्टेबाजी खेलाएको महाशाखाले जनाएको छ।
पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम कसुरमा सजाय हुनेगरी आवश्यक कारबाहीका काठमाडौं प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।