काठमाडौं– नेपाली सेनाले नेपाल प्रहरीलाई उपलब्ध गराएका हातहतियार मुख्यतः अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षाका लागि प्रयोग गरिने भएको छ।
सोमबार सैनिक मुख्यालय, जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पहिलो चरणका हतियार हस्तान्तरण गरेका थिए। सोमबार हस्तान्तरण गरिएका हातहतियारमा ३०० नाल राइफल र मेशिनगन तथा तिनका गोलीगठ्ठा रहेका छन्।
सेनाले नेपाल प्रहरीलाई कूल १० हजार ८१८ नाल बन्दुक (विभिन्न राइफल र मेशिन गन) तथा तिनका १४ लाख ९४ हजार १६ वटा गोली उपलब्ध गराइने जनाएको छ। आउँदो वैशाखभित्र ती सबै हतियार र गोलीगठ्ठा उपलब्ध गराइसकिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु सञ्चालन गर्ने प्रयोजनका लागि भनेर मन्त्रिपरिषद्को गत जेठ १७ गतेको निर्णयबमोजिम नेपाली सेनाले कुनै पनि प्रकारको मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिनगनसहित गोलीगठ्ठा उपलब्ध गराउने भएको छ’, निर्देशनालयको विज्ञप्तिमा भनिएको छ।
ती हतियार मर्मत तथा सञ्चालनका लागि प्रहरीलाई तालिमसमेत दिइने सेनाले जनाएको छ। ‘यसबाट प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ’, सेनाको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।