फाइल तस्वीर
काठमाडौं– ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
दोलखा घर भएका यमबहादुर खड्कालाई आइतबार काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो। परिसरका प्रवक्ता तथा एसपी रमेश बस्नेतले खड्कालाई रंगभेदी अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको नेपाल लाइभलाई जानकारी दिए।
असई झाले आफूमाथि जातीय विभेद भएको भन्दै काठमाडौं परिसरमा जाहेरी दिएलगत्तै खड्का फरार थिए। खड्कामाथि निगरानी गरेको प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो। यही प्रकरण प्रहरीले यसअघि असार ६ गते आफूलाई अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
ड्युटीमा खटिएका असई झाले संग्रौलासहितको टोलीको सवारी साधन रोकेर जाँच सुरु गरेपछि असई झामाथि रंगभेदी व्यवहार भएको थियो। निषेधाज्ञामा पासबिना सवारी चलाउन नमिल्ने भन्दै झाले पास मागेका थिए। तर, उनीहरुले देखाउन सकेका थिएनन्।
त्यसपछि लाइसेन्स माग्दासमेत उनीहरुले लाइसेन्स देखाउन सकेका थिएनन्। त्यसपछि गाडी होल्ड गर्न लगाएपछि विवाद भएको थियो। महाराजगञ्ज चोकबाट सुरु भएको विवाद ट्राफिक कार्यालयसम्म पुगेको थियो।
प्रहरी कार्यालयमा संग्रौलाको टोलीले असईको नाम सोधेपछि उनले आफ्नो नाम मणिकान्त झा भएको बताएका थिए। त्यसपछि संग्रौलासहितको टोलीले रंगभेदी शब्द प्रयोग गरेर दुर्व्यवहार गरेका थिए। रंगभेदी अभिव्यक्ति दिएको भन्दै मधेशी आयोगमा यस विषयमा उजुरी समेत परेको थियो।
संग्रौलासहितको टोलीले ‘ज्वाला संग्रौला भन्ने को हो? नाम सुनेको छ? मिडिया हेर्ने गरेको छ? प्रहरीको फुली लगाए भनेर ठूला कुरा गर्ने होइन नि फेरि। तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला। तपाईंले यो तरिकाले डिल गर्ने? म ठेगान लगाइदिन्छु म के हो भन्ने देखाइदिन्छु’ समेत भनेर धम्की दिएका थिए।
संग्रौला जातीय विभेदसँगै एमालेको भातृ संगठन युवा संघकी नेतृमाथि कुटपिट गरेको मुद्दामा पनि पनि अनुसन्धान भइरहेको छ। यो मुद्दामा संग्रौलासँगै शर्मिला वाइवा र हिमाल उपाध्यायलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिहेको छ।
योसँगै संग्रौलामाथि सरकारी कागजात कीर्ते गरेको घटनामा पनि प्रहरीले अनुसन्धान गरेको छ। संग्रौलाले विवाह दर्तालगायत कागजात कीर्ते गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। असार ६ गते पक्राउ परेका उनीहरुलाई चौथो पटक आइतबार ३ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।