काठमाडाैं- नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा नेपाल लाइभका फोटो पत्रकार निमेषजंग राईमाथि प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रोसन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै पत्रकारको पहिचान खुल्दा-खुल्दै पनि प्रहरीले लाठी प्रहार गरेकोप्रति आपत्ति जनाएका छन्।
'असार १९ गते शनिबार विद्यार्थी संगठनद्वारा मिनभवनमा गरिएको प्रदर्शनको समाचार संकलनको क्रममा विद्यार्थी र प्रहरीबीच भएको धरपकडका कारण लडेका फोटो पत्रकार राईमाथि पत्रकारको पहिचान खुल्दा-खुल्दै पनि प्रहरीले लाठी प्रहार गरेको थियो,' महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'स्वतन्त्ररूपमा पेसागत कर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो।'
महासंघले घटनामा संलग्न प्रहरीमाथि छानविन गरी कारबाही गर्न र यस्ता घटना नदोरिनेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

यसैगरी महासंघको प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गर्दै उक्त घटनाको विरोध जनाएको छ। समितिले निर्धक्क भएर समाचार, फोटो, भिडियो संकलन/छायांकन गर्ने पत्रकारको पेसागत अधिकार हनन् भएको ठहर गरेको छ। राज्यको महत्त्वपूर्ण अंग प्रहरी प्रशासनबाट भएको ज्यादतीको समितिले निन्दा गरेको छ।

यसअघि फोटो पत्रकार क्लब नेपाल (पिजेक्लव)लगायत संस्थाले समेत पत्रकार राईमाथि आक्रमण गर्ने प्रहरीमाथि कारबाही माग गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।