काठमाडौं- नेपालका लागि जिप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले यही असार २१ गते सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ।
यसअघि नै प्रि-बुकिङको घोषणा गरिसकेको एमएडब्लु लाइफले सोही दिनदेखि नयाँ कम्पासको डेलिभरी पनि सुरू गर्ने बताएको छ।
स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध हुने नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रूपैयाँको बीचमा राखिएको कम्पनीले जनाएको छ। साथै, अघिल्लो मोडेलझैं दुई वटा पावर ट्रेनमा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार १.४ लिटरको मल्टिएअर टर्बोइन्जिनले अधिकतम १६० एचपीपावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ। यो छ स्पिड म्यानुअल ट्रान्समिसन र सात स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ।
त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ। यो भने छ स्पिड म्यानुअल ट्रान्समिसन र नौ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुने कम्पनीको भनाइ छ।
‘नयाँ कम्पासको स्टाइल अघिल्लो संस्करणमाझैं उल्लेखनीय छ । यसमा पहिलेझैं सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विलआर्क, रिफ्लेक्टर र एलइडी प्रोजेक्टरसहितको हेडल्याम्प रहनेछ। तर इन्टेरियरमाभने व्यापक परिवर्तन गरिएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।