काठमाडाैं- जगदम्बा मोटर्सले प्रोटोनको पहिलो एसयूभी 'प्रोटोन एक्स ७०' नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले 'भर्चुअल' माध्यमबाट उक्त गाडी सार्वजनिक गरेको हो।
त्यसक्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले प्रोटोन एक्स ७० मलेसेयामा मात्र नभई संसारका धेरै मुलुकमा ख्याती र सफल रहेको बताए। यस गाडीले नेपालमासमेत सफलता हासिल गर्ने अपेक्षा उनले व्यक्त गरे।
'संसारका अरु देशमाझैं नेपालमा पनि आफ्नो सफलताको कथालाई निरन्तरता दिनेछ। हामी प्रोटोनको माध्यमबाट जगदम्बा मोटर्सको सफलताको एउटा नयाँ कथा कोर्न चाहन्छौं र आशा छ कि प्रोटोन एक्स ७० ले नेपाली अटोमोबाइल बजारमा एउटा नयाँ अध्यायको थालनी गर्ने छ,' उनले भने।
अग्रवालले चाँडै नै प्रोटोनको सेल्स र सर्भिसलाई डिलरमार्फत् मुलुकभर पुर्याउने बताए। प्रोटोनको सेवा, सुविधा, पाठपुर्जाको उपलब्धता र विश्वसनीयताबारे प्रतिबद्धता जनाउँदै उनले भने, 'प्रोटोनलाई मुलुककै एउटा शीर्ष अटोमोबाइल कम्पनी बनाउनमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नेछौँ।'
'प्रिमियम इन्टेलिजेन्ट एसयूभीको नामबाट प्रसिद्धि कमाएको यस गाडीमा रहेको इन्टेलिजेन्ट की ले ढोका बन्द गर्ने र खोल्ने काम सजिलै गर्दछ। यदि ढोका राम्रोसँग लक भएको छैन भने त्यसको सूचना दिलाउँदछ जसले गाडीभित्र रहेको सामान चोरी हुन वा हराउनबाट जोगाउँदछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसमा रहेको अत्याधुनिक भ्वाइस कमान्ड सिस्टमले गाडीभित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश कामलाई बोलीको भरमा निप्ट्याउन सहयोग पुर्याउने बताइएको छ। 'भ्वाइस कमान्ड सिस्टमले एयर कन्डिसनर कन्ट्रोल, समय, फोनकल, आफूले चाहेको संगीत सुन्ने, एसियाली मानिसको पहिचान, गाडीका विभिन्न फिचर्सबारे सोधपुछदेखि लिएर गाडीको पुरै सिस्टम कन्ट्रोल गर्नसक्नेसम्म काम गर्दछ। साथै यस गाडीमा अत्याधुनिक मोबाइल कनेक्टिभिटी टेक्नोलोजीसमेत जडित रहेको छ, जसअन्तर्गत चालकले सिस्टममा आफ्नो मोबाइल फोन कनेक्ट गरेर नेभिगेसन, फोन, म्युजिक र अन्य सेवाको उपयोग गर्न सक्ने छन्,' कम्पनीको भनाइ छ।
फाइभ टार एसियन एनक्याप सेफ्टी रेटिङ पाएको यस गाडीको पाँच वर्ष (एक लाख ५० हजार किमि) वारेन्टी रहेको छ। यसको सुरुआती मूल्य हाललाई ८६ लाख ९९ हजार तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।