काठमाडौं– मोटरसाइकल चोरी गर्ने गिरोहका ८ सदस्यलाई दाङ प्रहरीले पक्राउ गरेको छ। १३ वटा चोरीका मोटरसाइकलसहित ८ जनालाई विभिन्न ठाउँबाट दाङ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा रोल्पाको सुनिल स्मृति गाउँपालिका ३ सुलिचौरका २८ वर्षीय श्रीताज अली अन्सारी, रोल्पाको लुङ्ग्री गाउँपालिका ४ का २६ वर्षीय लेखनाथ विष्ट, लुङ्ग्री ५का २५ वर्षीय टेकेन्द्र विष्ट, लुङ्ग्री ६ का २६ वर्षीय नुमबहादुर रोका क्षत्री, लुुङ्ग्री ६ कै हिराबहादुर बिष्ट, भारतको बलरामपुर तुलसीपुर थानाका २२ वर्षीय मोहम्मद रफिक, दाङको घोराही उपमहानगरपालिका १९ का १९ वर्षीय जाबेद खान र प्युठानको स्वर्गद्वारी नगरपालिका ३ का २४ वर्षीय ठगिराम थापा रहेको दाङ प्रहरीका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले बताए।
दाङबाट मोटरसाइकल चोरी गरेर रोल्पा, प्युठानतिर लगेर बेच्ने गरेको भन्ने सूचनाका अधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले १३ वटा चोरीका मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरको हो।
असार १५ गते घोराही उपमहानगरपालिका १४ बाट रा ५ प ४४९६ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा नुमबहादुर र हिराबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो। यी दुईलाई पक्राउ गरेपछि नै मोटरसाइकल चोरी गिरोहसम्म प्रहरी पुग्न सफल भएको हो।
पक्राउ परेका मध्ये श्रीताज अली अन्सारी रोल्पा सुलिचौरमा बजाज सर्भिस सेन्टर खोलेर बस्ने र चोरीको मोटरसाइकल किन्ने गरेको पाइएको प्रहरीले जनाएको छ। उनले चोरीका मोटरसाइकल ५० हजार रुपैयाँसम्म किन्ने गरेको र त्यसका लागि गिरोह नै परिचालन गरेको डिएसपी रिजालले बताए ।
लेखनाथ विष्ट भने श्रीताज अली अन्सारीबाट रकम लिई नाफा खाई चोरी गर्ने व्यक्ति परिचालन गर्ने गरेको पाइएको छ। टेकन्द्र विष्टले भने लेखनाथबाट रकम लिई चोरी गर्नका लागि नुमबहादुरलगायत व्यक्ति परिचान गर्ने भूमिका निभाएको अनुसन्धानबाट खुलेको छ।
त्यस्तै स्वर्गद्वारी ३ मा जलुके थापा अटो पार्टस् सञ्चालन गरेका ठगिराम थापाले पनि चोरीका मोटरसाइकल खरिद गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। उनै थापाले मोहम्मद रफिकलाई मोटरसाइकल चोरी गर्न पठाउन गरेको पाइएको छ।
रफिकले जाबेदसँग भेट गरी मिलेर मोटरसाइकल चोरी गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
चोरीका १३ वटा मोटरसाइकलमध्ये २ वटाको मात्रै धनी खुलेको छ। बाँकी ११ वटा मोटरसाइकलको धनी खुलेको छैन। मोटरसाइकल हराएका व्यक्तिले आफ्नो कागजातसहित उपस्थित हुन दाङ प्रहरीले अनुरोध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।