भक्तपुर- बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्ग समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका-५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका-६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमारसिं तामाङलाई पक्राउ गरेको छ।
तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दुर्व्यवहार गरेको प्रहरीको आरोप छ। तामाङले १४ वर्षीया बालिकादेखि ६० वर्षीया महिलासमेतलाई दुर्व्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।
अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरुमा समाउने र छातीलगायतका अङ्गहरुमा हिर्काएर भाग्ने गरेको खुल्न आएको डीएसपी थापाले बताए।
तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधबार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये छ जनाले किटानी जाहेरीसमेत दिएका छन्। तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।
प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसूरमा समेत मुद्दा चलाउने भएको छ। तामाङलाई पाँच वटा अभद्र व्यवहार र एउटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसूरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ। भक्तपुरमा एकैपटक एक व्यक्तिलाई ६ वटा मुद्दामा कारबाही चलाइएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।