काठमाडौं- यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जनालाई काठमाडाैंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार काठमाडाैंबाहिर जाने यात्रुहरुबाट तोकिएकोभन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने छ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, वर्ष ३८ का कुशलराम बस्नेत, वर्ष २८ का गिमबहादुर गाहामगर, रूपन्देहीका वर्ष ३६ का दीपनारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन्। उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ।
काठमाडाैंबाट बा १६ च २१८४ नम्बरको प्राइभेट गाडीमा उदयपुरसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ वर्षीय राकेश रसाइली पक्राउ परेका छन्। रसाइलीले प्रतियात्रुसँग तीन हजार रूपैयाँका दरले भाडा लिएका थिए। यसैगरी चावहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रतिब्यक्ति पाँच हजारसम्म भाडा लिने २५ वर्षका झनकबहादुर घिमिरेलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको छ। घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन। पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञापश्चातको यो अवधिमा उपत्यकाबाहिर जाने यात्रुहरुसँग तोकिएकोभन्दा आठ गुणा बढीसम्म भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरी कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाले तोकिएकोभन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।