काठमाडाैं- महानगरीय प्रहरी अपराध महाशाखाले सवारीसाधनको कीर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छल गरी चोरी गरेर ल्याएको सवारीसाधनका नक्कली सवारी दर्ता किताबसमेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो। ग३च १४६२ र प्रदेश ३-०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडीहरु भन्सार छली काठमाडौं ल्याई ती सवारीसाधनको नक्कली सवारी दर्ता किताब लगायतका कागजातहरु तयार गरी कारोबार गर्ने कमल बाबु पुरी भनिने लमजुङ सुन्दरबजार नगरपालिका-३ घर भई काठमाडौंको सामाखुसी बस्ने कमलबाबु भट्टलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने अरुण खड्का र भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने मधु सिलवालसमेत रहेको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताए।
त्यस्तै गाडीमा फेला परेको कमल बाबु पुरीको नामको नक्कली सवारी दर्ता किताब तयार गर्न संलग्न रहेका मोरङ बयरबन घर भई काठमाडौंको शान्तिनगरमा बस्ने रेवती रमन निरौलालाई पनि प्रहरीले पक्राउ गरको छ। निरौलाको कोठाबाट विभिन्न व्यक्तिहरुको नाममा रहेको शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छापहरु, होलो ग्राम, लाइसेन्स, राहदानीलगायत सरकारी लिखितहरु समेत बरामद भएको महाशाखा प्रमुख खापुङले बताए।
पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।