काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २८ फागुन २०७५ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आतंकवादी गतिविधि गरेको भन्दै प्रतिबन्ध लगायो। झण्डै २ वर्ष भूमिगत भएका विप्लव गएको वर्ष २१ फागुनमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमार्फत् औपचारिक रुपमा सार्वजनिक भए। सरकारसँगको पटक-पटकको वार्तापछि तीन बुँदे सहमति गरेर उनको पार्टी ‘शान्तिपूर्ण’ राजनीतिमा आयो। सरकारले प्रतिबन्ध फुकुवा गर्यो।
तर, पछिल्लो समय उनको पार्टीको कुनै सक्रियता देखिँदैन। न नेकपाका नेतृत्वकर्ता विप्लवका गतिविधि ऊर्जाशील देखिएका छन् न उनको पार्टीका कुनै गतिविधि भएका छन्। बरु, 'सिके राउतपथ'मा नेकपा गएको टिप्पणी हुन थालेको छ। (तराईलाई टुक्र्याउने पृथकतावादी नारा लगाएका सिके राउत पनि सरकारसँगको सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएका थिए। जनमत पार्टी गठन गरेका उनी पनि अहिले गुमनाम छन्। उनको पार्टीका गतिविधि शून्यप्राय: छन्।)
प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि मुलुक दुई ध्रुबमा विभाजित छ। अर्कोतिर कोरोना महामारी छ। तीन महिनामा सबै नेपालीलाई कोरोनाको खोप दिलाउने प्रधानमन्त्रीको वाचा पनि ‘हावा गफ’ सावित भएको छ। बल्ल २ दशमलव ५५ प्रतिशत नेपालीले कोरोनाको खोप प्राप्त गरेका छन्।
कोरोना महामारीबाट ९ हजार भन्दा बढीको मृत्यु भएको छ। बाढी पहिरोले देशभर ठूलो जनधनको क्षति पुर्याएको छ। मुलुकमा राजनीनिक र आर्थिक संकट चुलिँदा समेत विप्लवको पार्टी जुर्मुराएको छैन। बरु, एकथान विज्ञप्ति जारी गरेर विप्लव कपिलवस्तुमा ‘चुपचाप’ बसिरहेका छन्। फागुनयता एकाध मिडियामा अन्तर्वार्ता दिएका विप्लव अहिले कपिलवस्तुमा घरायसी जीवन बिताइरहेका छन्। गहुँ काट्ने, धान रोप्नेलगायतका कृषि कर्ममै व्यतित भइरहेको छ, उनको दैनिकी।
'नेपालमा वैज्ञानिक समाजवाद ल्याउने' उद्घोष गरेको पार्टीका महासचिव अहिले ‘गुमनाम’ जस्तै छन्। क्रान्तिकारी धारको नेतृत्वको दाबी गर्ने उनी राष्ट्रिय राजनीतिबाट पूर्ण रुपमा अलग देखिन्छन्। अधिकांश राजनीतिक जीवन भूमिगत भएर बिताएका विप्लव अहिले किन यस्तो गरिरहेछन् भनेर उनकै पार्टीका कार्यकर्तासमेत प्रश्न गर्छन्।
नेकपा प्रतिबन्धित हुँदा उनको पार्टीका ११ जना नेता कार्यकर्ताको मृत्यु भयो। केही राज्य पक्षबाट मारिए भने केहीले पार्टी कामकै सिलसिलामा ज्यान गुमाए। तर, उनीहरूको परिवारका लागि विप्लवले कुनै पहल नलिएको पीडित परिवारको गुनासो छ। पीडित परिवार विप्लवसँग चिढिँदै गएका छन्। त्यति मात्र होइन, अर्कातिर नेकपासँग भएको सहमति सरकारले पूर्ण पालना गरेको छैन। फलस्वरूप नेकपाका कयौं नेताकार्यकर्ता अहिले पनि जेलमा छन् भने मुद्दा फिर्ता समेत भएको छैन।
तर, नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले महासचिव विप्लव राजनीतिक घटनाक्रममा चुपचाप नलागेको दाबी गर्छन्। ‘हामीले आफ्नो ठाउँबाट पहल गरिरहेका छौं। सबै जनतालाई तत्काल कोरोना खोप लगाउँदा कुल बजेटको एक प्रतिशत बजेट खर्च हुने हो। त्यसैले खोप लगाउने विषयलाई पहिलो प्राथमिकता राख्नुपर्छ भनिरहेका छौ’, बास्तोलाले नेपाल लाइभसँग भने, ‘कोरोना संक्रमणले थोरै कम सक्रिय भयौं। नभए राजनीतिक निकाश दिन आफ्नो तर्फबाट लागि रहेका हुनेथियाैं।’
सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति पालना नगरेको विषयमा समेत बास्तोलाले आक्रोश पोखे। आफूहरुले आफ्नो तर्फबाट तीन बुँदे सहमति पालना गरेपनि सरकारले बन्दी रिहा र मुद्दा फिर्ता लिन पहल नगरेको उनी बताउँछन्।
फागुन २१ गतेयता प्रायः कपिलवस्तुमै विप्लव
गत फागुन २१ गते राष्ट्रिय सभा गृहमा तीन बुँदे सहमति गर्दै प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गरेका थिए। सोही दिन पश्चिम नेपाल हुँदै चितवनदेखि काठमाडौं प्रवेश गरेका विप्लवले लाजिम्पाटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकण्ड’को घरमा छोटो समय बिताए। त्यसको पर्सिपल्ट, फागुन २३ गते पूर्वसभामुख कृष्णबहादुर महरालगायत पूर्वसहकर्मीलाई भेटेर उनी कपिलवस्तु फर्किए।
प्रायः कपिलवस्तुको शिवराजगढी नगरपालिका बस्दै आएका विप्लव कामै परे मात्र काठमाडौं झुल्किने गरेका छन्। भूमिगत जीवनबाट सार्वजनिक भएपछि तीन पटक काठमाडौं आएका विप्लव काठमाडौंमा हुँदा प्रायः प्रकाण्डनिवास बस्ने गरेका छन्। आफ्नो काम सिध्याउनेबित्तिकै उनी काठमाडौंबाट कविलवस्तु फर्किहाल्छन्।
पार्टी हेडक्वार्टर, केन्द्रीय कमिटी र अन्य जनवर्गीय संगठनको बैठक, भेला, प्रशिक्षण समेत उनले कपिलवस्तुमै गर्ने गरेका छन्। राष्ट्रिय नेताको छवि बनाएका अधिकांश नेता काठमाडौंमै भेटिने गरेपनि विप्लव भने कपिलवस्तुलाई केन्द्र बनाएर बसिरहेका छन्।
कपिलवस्तुको शिवराजगढी नगरपालिकामा विप्लवलाई पुग्ने आफ्नै पुर्ख्यौली जग्गा जमिन भएको उनी निकट एक नेताले बताए। ‘विप्लवले अंशवापत पाउने जग्गा माओवादी जनयुद्धमा पार्टीकै नेता कार्यकर्ताले लगाएर खाने गरेपनि शान्ति प्रक्रियापछि भने विप्लव परिवारले खेतिपाती गर्दै आएका छन्’, ती नेताले भने, ‘त्यसवापतको झण्डै २ विघा जग्गालाई छुट्टयाएर विप्लवले सामूहिक खेती गर्ने भन्दै आफैं खेती गर्दै आएका छन्।’
गत असार ९ गते सामाजिक सञ्जाल फेसबुकमा झण्डै एक मिनेटको भिडियो राखेर विप्लवले 'श्रमसँग नियमित जोडिनु हरेक कम्युनिस्टको आचारण बन्नुपर्छ' भन्ने उल्लेख गरेका थिए। त्यस भिडियोमा आफ्ना केही कार्यकर्ता समेत उतारेर धान रोप्दै गरेको देखिन्थ्यो। विप्लवले सोही भिडियो राखेपछि उनको पक्ष र विपक्षमा विभिन्न टिप्पणी पनि भए। राष्ट्रिय छवि बनाएका विप्लव सामान्य किसानको रुपमा धान रोपेको भन्दै कतिपयले प्रशंसा समेत गरे। उनका कार्यकर्ताले त विप्लवलाई चिनियाँ राष्ट्रपति सी चीन फिङसँग तुलना गर्नसम्म भ्याए।
पार्टीका सम्पूर्ण गतिविधि कपिलवस्तुमै केन्द्रित
सबै जिल्लामा संगठन रहेको दाबी गर्ने नेकपाले आधिकारिक रूपमा केन्द्रीय कार्यालय बनाएको छैन। अन्य जनवर्गीय संगठनका कार्यालय हुने झन् कुरै भएन। गत वैशाख १ गते विप्लव आफैंले कपिलवस्तुको शिवराजगढी नगपालिकामा सम्पर्क कार्यालय उद्घाटन गरेका थिए। सम्पर्क कार्यालय तत्काल सञ्चालनमा ल्याउने भनिएपनि कोरोना महामारीका कारण निर्माण कार्य सम्पन्न गर्न नसकिएको नेताहरू बताउँछन्।
प्रायः पार्टी सचिवालय बैठक शिवराजगढीमै हुँदै आएको छ। यसअघि बसेको केन्द्रीय कमिटी बैठक समेत शिवराजगढी नगरपालिकामै भएको थियो। गत वैशाख २८ गते जनस्वास्थ्य केन्द्र भवनको शिलन्यास पनि विप्लव आफैंले गरेका थिए। पार्टीले नै बनाउने भवन जनपरिचलानमार्फत् तयार गर्ने योजना बनाइएको थियो। उक्त भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको नेकपाका नेताकार्यकर्ताहरू बताउँछन्। पार्टीले सञ्चालन गर्ने भिन्न अभियान र जनपरिचालनका कार्य समेत विप्लव आफैंले शिवराजगढीबाटै गर्दै आएका छन्।
माओवादी केन्द्रका प्रायः नेताहरूको निर्वाचन क्षेत्र सुरक्षित नुहँदा दुःख पाउने गरेकाले आगामी निर्वाचनलाई लक्षित गरेर विप्लवले कपिलवस्तुलाई सुरक्षित बनाउन खोजेको बताइन्छ। भूमिगत राजनीतिबाट पार नलाग्ने देखेपछि शान्तिपूर्ण मुलधारको राजनीतिमा आएका उनी निर्वाचन क्षेत्र सुरक्षित गर्नतर्फ लागेको उनै पार्टीका कतिपय नेताहरूको बुझाइ छ। उनका क्रियाकलापले समेत निर्वाचनलाई केन्द्रमा राखेर कपिलवस्तुमा केन्द्रित भएको अनुमान लगाउन गाह्रो छैन।
प्रतिबन्ध फुकुवापछि विश्रममा!
तत्कालीन माओवादीमा ‘जनयुद्ध’का बेला विप्लवसहित जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, नन्दबहादुर पुन बारम्बार सुनिने/देखिने युवा नेता थिए। ती पाँच नेताको जोस-जाँगरलाई बाबुराम भट्टराईले समेत उच्च प्रशंसा गर्ने गर्थे। तत्कालीन माओवादी नेताहरूका अनुसार भट्टराई ती पाँच जनाको एकताले मुलुकलाई अर्को ठाउँमा पुर्याउन सकिने बताउँथे।
माओवादी शान्ति प्रक्रियामा आएपछि शर्मा, बस्नेत र पुनद्वयले राजकीय पदतिर ध्यान दिन थाले भने विप्लव यसबाट टाढै रहे। उनलाई बारम्बार सांसद र मन्त्री बनाउन खोज्दा समेत पार्टीको काममा केन्द्रित हुने भन्दै तर्किने गरेका थिए। त्यही धङधङीले उनले २०६९ सालमा मोहन वैद्यलाई पार्टी फुटाउन समेत बाध्य पारे। तत्कालीन माओवादी विभाजनपछि उनले वैद्य र रामबहादुर थापा ‘बादल’लाई छोडेर आफ्नै नेतृत्वमा २०७१ सालमा नयाँ पार्टी गठन गरे।
माओवादीकै शैलीमा बम विस्फोटन र चन्दा आतंक गरेको भन्दै ओली नेतृत्वको सरकारले २८ फागुन २०७५ मा नेकपालाई प्रतिबन्ध गराउने निर्णय गरेको थियो। प्रतिबन्धपछि नेता कार्यकर्ता पक्राउ र धरपकडमा पर्न थालेपछि राजनीतिक गतिविधि प्रायः ठप्प भए। प्रतिबन्धकै बीचमा विप्लव नेतृत्वका १२ जना नेता कार्यकर्ताको मृत्यु भयो। यस्तै, दुई प्रहरी, एक शिक्षकको हत्या भयो। अन्ततः उनी ओली नेतृत्वकै सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा फर्किए।
न नेता कार्यकर्ता रिहा न मुद्दा फिर्ता
सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति अनुसार ३० भन्दा धेरै नेता कार्यकर्ता रिहा र उत्तिकै संख्यामा लागेको मुद्दा फिर्ता नगरेपछि विप्लव आक्रोशित हुँदै गएका भनिएको छ। तर, उनका गतिविधिले त्यस्तो देखाउँदैन।
सहमति भएको चार महिना हुँदा समेत सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’, केन्द्रीय सदस्य भरत बम र चूडामणि ओली रिहा हुन सकेका छैनन्। नेता कर्याकर्ता रिहाका लागि विप्लवले तीनपटक भेट्दा समेत प्रधानमन्त्री ओलीले खासै रुचि देखाएका छैनन्। विप्लवले पनि धेरै जोडबल गर्न सकेका छैनन्।
हाल कोरोना महामारीको बहानामा उनी कपिलवस्तुमै चुपचाप बसिरहेका छन्। सामाजिक सञ्जाल र एकाध मिडियामा अन्तर्वार्तामार्फत् झुल्किने भन्दा विप्लवले अन्य कुनै राजनीतिक गतिविधि गरेका छैनन्। उनले कपिलवस्तुलाई अड्डा बनाएपछि पछिल्लो समय नेकपाका नेता धर्मेन्द्र बास्तोला र उदयबहादुर चलाउनेले नै राजनीतिक भेटघाट बढाएका छन्। गत बुधबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका उनीहरूले शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटे।
दुवै नेतासँग राजनीतिक निकाश दिन जनमत संग्रह र सर्वदलीय सरकारको विषय उठाएको भेटमा सहभागी चलाउनेले बताए। अहिलेको राजनीतिक निकाश संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रहमा जानुपर्ने प्रस्ताव राखिएको उनले बताए। तर, प्रचण्ड-बाबुराम दुवै नेताले ओलीको प्रतिगमन सच्चिए मात्रै अन्य राजनीतिक विषयमा छलफल गर्न सकिने जवाफ फर्काएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।