पक्राउ परेका दीपक गजुरेल
काठमाडौं– गत जेठ १३ गते राती काठमाडौंको मैतीदेवीस्थित एउटै घरमा रहेका २ वटा सहकारी संस्थामा लुटपाट भयो।
मैतीदेवीको एउटै घरमा रहेका ज्येष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैयाँ नगद तथा मोबाइल तथा ल्यापटप १/१ थान र गैथली बचत तथा ऋण सहकारी संस्थाबाट नगद २ लाख ५८ हजार रुपैयाँ तथा ९ तोला सुन चोरी भएको थियो।
चोरीको विषयमा २ वटै सहकारी संस्थाले प्रहरीमा उजुरी दिए। प्रहरीले अनुसन्धान पनि शुरु गर्यो। तर, चोरीमा संलग्न व्यक्ति भने फेला परेनन्।
काठमाडौंमा त्यसअगाडि पनि विभिन्न ठाउँमा सहकारी संस्थाबाट नगदसहित धनमाल चोरी हुने गरेका उजुरी आइरहेका थिए। केही ठाउँमा भएका चोरीमा संलग्नहरु पक्राउ परेका भएपनि पछिल्लोपटक ५ वटा सहकारीमा भएको चोरीका घटनामा संलग्नहरु भने पक्राउ परेका थिएनन्।
बानेश्वरको बेबिलोन उपभोक्ता सहकारी संस्था, शंखमुलको घर संसार उपभोक्ता सहकारी संस्था, गोशाला मित्र पार्कको पञ्चश्री बचत तथा ऋण सहकारी संस्था र काटेश्वरको सन्दुक बचत तथा ऋण सहकारी संस्थामा भएको चोरीका घटनामा संलग्न व्यक्ति फरार थिए।
सहकारी संस्थामा भएका चोरीका घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले छुट्टै टोली गठन गरेको थियो। परिसरको टोलीले सहकारीहरु चोरी भएका ठाउँमा कार्यक्षेत्र पर्ने बृत्तसँग समन्वय गरेर घटनाको अनुसन्धान गरिरहेको थियो।
यही बीचमा असार १२ गते महानगरीय प्रहरी बृत्त गौशालाको टोलीले गौशालाको सडकमा हिँडिरहेका एक व्यक्तिलाई पक्राउ गर्यो। पक्राउ पर्नेमा नुवाकोटको वेल्कोट नगरपालिका–९ घर भइ काठमाडौंको जोरपाटी बस्ने २२ वर्षीय दीपक गजुरेल थिए।
उनले बोकेको झोला शंकास्पद लागेपछि प्रहरीले उनलाई रोक्न खोजेको थियो। रोक्ने क्रममा भाग्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। झोला जाँच गर्ने क्रममा सिसा काट्ने मेसिन, मास्टर चाबी र केही कपडा फेला परेपछि उनी चोरीका घटनामा संलग्न रहेको आशंकामा अनुसन्धान अगाडि बढाइयो।
महानगरीय प्रहरी परिसर काठमाडौं र बृत्त गौशालाको टोलीले गरेको संयुक्त अनुसन्धानबाट दीपक काठमाडौंमा भएका सहकारी चोरीका घटनामध्ये ७ वटा घटनामा संलग्न रहेको पाइयो।
प्रहरीका अनुसार २२ वर्षीय दीपक गजुरेलले गत माघ १५ गते यता (४ महिनाको अवधिमा) ७ वटा सहकारीमा चोरी गरेका छन्। विभिन्न सहकारीबाट उनले नगद मात्रै ४३ लाख ९७ हजार ३२६ रुपैयाँ चोरी गरेका छन्। यस्तै, ९ तोला सुन, ल्यापटप र मोबाइल पनि उनले लुटपाट गरेका छन्।
प्रहरीका अनुसार उनले बानेश्वरको बेबिलोन उपभोक्ता सहकारी संस्थामा गत माघ १५ गते ७ लाख २ हजार ६३६ रुपैयाँ लुटपाट गरेका भेटिएको छ। बानेश्वरमा चोरी गरेको १ हप्ता पनि नपुग्दै माघ २१ गते उनले शंखमुलस्थित घर संसार उपभोक्ता सहकारी संस्थाबाट २ लाख २४ हजार ९५ रुपैयाँ लुटपाट गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ।
दीपकले गोशाला मित्र पार्कस्थित पञ्चश्री बचत तथा ऋण सहकारी संस्थाबाट फागुन ११ गते १४ लाख ९८ हजार तथा काटेश्वरको सन्दुक बचत तथा ऋण सहकारी संस्थाबाट चैत ४ गते १० लाख १३ हजार ६२५ रुपैयाँ लुटपाट गरेका प्रहरीले जनाएको छ।
कोटेश्वरमा चोरी गरेको २ महिनापछि १३ जेठ २०७८ मा उनले मैतीदेवीस्थित ज्येष्ठ आइडोलोजी सहकारी संस्थाबाट बाट ५ लाख रुपैयाँ नगद र मोबाइल तथा ल्यापटप १–१ थान र गैथली बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख ५८ हजार ५ सय रुपैयाँ नगद र ९ तोला सुनको गहना लुटपाट गरेका प्रहरीले जानकारी दिएको छ।
दीपकले अरु सहकारी संस्थामा समेत चोरी गरेको आशंकामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्त प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।