काठमाडौं– अभिनेता प्रदीप खड्का पुनः निर्माताका रुपमा आउने भएका छन्। प्रदीपकै कथा र मुख्य अभिनय रहने फिल्मको नाम ‘लभ स्टेशन’ राखिएको छ। उज्ज्वल घिमिरेले निर्देशन रहने फिल्ममा प्रदीपको अपोजिटमा ‘लिलिबिली’ नायिका जसिता गुरुङ देखिने भएकी छिन्।
फिल्ममा प्रदीपसँगै गोविन्द शाहीको पनि लगानी रहनेछ। निर्माता गोविन्द शाहीका अनुसार, चलचित्रमा तीन अभिनेत्रीको प्रमुख भूमिका रहने र अन्य २ अभिनेत्रीको खोजी भइरहेको छ। त्यसमध्ये साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा चुलिएको छ। तर, निर्माण पक्षबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन।
प्रदीप अहिले निरक पौडेलको निर्देशनमा बनिरहेको चलचित्र ‘रोजी’को छायांकनमा व्यस्त छन्। उक्त फिल्मको काम सकिए लगतै ‘लभ स्टेशन’को छायांकन सुरु हुने जनाइएको छ।
फिल्म आगामी फागुन २४ गते प्रदर्शनमा ल्याउने लक्ष्य फिल्म युनिटको छ।
अभिनेता खड्काले यसअघि फिल्म 'स्केप' र 'ठूलो मान्छे' निर्माण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।