काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता इरानी खेलाडी अलि दाइले आफ्नै कीर्तिमान बराबरी गरेपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन्।
युरोपेली च्याम्पियनसिप अन्तर्गत हंगेरीको बुडापेस्टमा बुधबार राति भएकाे खेलमा ३६ वर्षीय रोनाल्डोले फ्रान्सविरुद्ध २ गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुर्याएका थिए। राेनाल्डाेले युरोकपमा सर्वाधिक १४ गोलसमेत गरिसकेका छन्।
‘बधाई क्रिस्टियानो रोनाल्डो। जो पुरुषको अन्तर्राष्ट्रिय गोल स्कोरिङ कीर्तिमानबाट मात्र एक गोल टाढा छन्। यो रोनाल्डोको उल्लेखनीय उपलब्धि हो। उनी फुटबलको महान् च्याम्पियन हुन्, विश्वभरि जीवनलाई प्रभावित गर्ने र प्रभाव पार्ने मानव हुन्,’ उनले इन्स्टाग्राममा लेखेका छन्।
दाइले रोनाल्डोलाई इतिहासको उत्कृष्ट तीनमा डिएगो म्याराडोना र लिओनल मेसीसँग राखेका छन्।
फ्रान्सविरुद्ध दोस्रो पेनाल्टी गोलपछि राेनाल्डाेले १७८औं खेलमा उक्त कीर्तिमान बराबरी गरेका हुन्। राेनाल्डाेले खेलको ३१औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए। फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले फ्रिकिकमा आएको बललाई पन्च गर्ने क्रममा ड्यानिलो परेराको टाउकोमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
त्यस्तै, ५८औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि राेनाल्डाेले पेनाल्टी हान्ने अवसर प्राप्त गरेका थिए। रोनाल्डोले गरेकाे प्रहार गोलरक्षक लोरिसले ठम्याउन नसक्दा गाेलमा परिणत भएकाे थियाे।
दाइकाे कीर्तिमान यसरी बन्याे
सन् १९९३ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेका एसियन फुटबल लेजेण्ड इरानका दाइले अन्तिम गोल सन् २००६ मा गरेका थिए। उनले यसबीचमा कूल १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरे।
दाइले नेपालविरुद्ध सन् १९९६ जुन १० को दिन ८-० को जितमा ४ गोल गरेका थिए। जोर्डनमा भएको १९९६ एएफसी एसियन कप छनोट अन्तर्गत खेलमा नेपालले ९ दिनपछि पुन: इरानसँग खेलेको थियो। १९ जुनमा भएको खेलमा भने नेपाल ४-० ले पराजित हुँदा दाइले १ गोल गरेका थिए।
दाइले उक्त प्रतियोगितामा श्रीलंकालाई ७-० ले हराउँदा ५ गोल गरेका थिए। ओमानविरुद्ध २-० को जितमा एक गोल गरेका उनले अर्को खेलमा २-१ ले जित्दा पनि गोल गरेका थिए। उनले त्यस छनोटमा मात्र कूल १२ गोल गरेका थिए।
दाइले आफ्नो करिअरमा सर्वाधिक गोल माल्दिभ्स र लाओसविरुद्ध गरेका थिए। यी दुई टाेलीविरुद्ध उनले ८-८ गोल गरे। लेबनानविरुद्ध ६ गोल गरेका दाइले नेपाल र श्रीलंकाविरुद्ध ५-५ गोल गरेका थिए। श्रीलंकाविरुद्ध एकै खेलमा ५ गोल उनैले प्रहार गरेका थिए।
दाइले दक्षिण कोरिया, जापान, इराक, सिरिया, साउदी अरेबिया र ओमानविरुद्ध पनि ४-४ गोल गरेका छन्। युरोपको बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध ३ गोल गरेका उनले युक्रेन, मेक्सिको र पराग्वेविरुद्ध पनि १-१ गोल गरेका छन्।
समग्रमा दाइले एसियाका २४ टोलीविरुद्ध ९५ गोल, यूईएफएको ३ टोलीविरुद्ध ५ गोल गरे। उत्तर अमेरिकाको ४ टोलीविरुद्ध ४ गोल गरेका उनले ३ अफ्रिकी टोलीविरुद्ध ३ र २ दक्षिण अमेरिकी टोलीविरुद्ध २ गोल गरेका थिए।
पोर्चुगल समूह एफबाट उत्कृष्ट तेस्रो टिममध्ये पर्दै अन्तिम १६ मा पुगेकाले रोनाल्डोले दाइको कीर्तिमान यसै युरोमा तोड्ने सम्भावना छ। साविक विजेता पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।