काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो कम्प्लेक्सबाट ल्यापटप चोर गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सरकारी स्वामित्वको नेपाल पारवहन तथा गोदाम ब्यबस्था कम्पनी लिमिटेडले सञ्चालन गरेको कार्गो कम्प्लेक्सको गोदामबाट १३ थान ल्यापटप चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ घर भइ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँ बस्दै आएका २९ वर्षीय विण्णु अधिकारी छन्।
नेपाल पारवहन तथा गोदाम ब्यबस्था कम्पनी लिमिटेडले गत जेठ ७ गते आयात भएको ५०७ थान ल्यापटपमध्ये गत जेठ २० गते रातको समयमा ७ थान र असार ३ गते राति ६ थान गरी १३ थान ल्यापटप चोरी भएको भन्दै खोजीका लागि प्रहरीलाई पत्राचार गरेको थियो।
कम्पनीको पत्राचारको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले अधिकारीलाई पक्राउ गरेको हो। पक्राउ परेका अधिकारीको साथबाट डेल कम्पनीका ८ थान नयाँ ल्यापटप र २ थान चार्जर बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइने अपराध महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।