काठमाडौं- आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रोजगारी आयकर र व्यवसायीकरको विवरण सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको करको विवरण चालू आर्थिक वर्षमा तिर्दै आएको रकममा भने फरक पर्ने छैन।
सरकारले आगामी आर्थिक वर्षको बजेटसँगै ल्याएको आर्थिक ऐनमा रोजगारी आयकर तथा व्यवसायी आयकरको न्यूनतम सिमा रकममा कुनै परिवर्तन भएको छैन। रोजगारी आयकरको सिमा रकम बढाउनुपर्ने व्यवसायीको माग भएपनि सरकारले रोजगारीबाट भएको आम्दानीमा तिर्दै आएको करमा कुनै परिर्वतन नगरेको हो। सोही अनुसार विभागले आर्थिक वर्ष २०७८/०७९ को लागि रोजगारी आयकरमा लाग्ने करको विवरण सार्वजनिक गरेको हो।
सोही अनुसार रोजगारीको आयकरण विवरण यस्तो छ
एकल व्यक्ति (अविवाहित)को हकमा वार्षिक ४ लाख रुपैयाँसम्म आय गर्दा १ प्रतिशत अर्थात ४ हजार रुपैयाँ तिर्नु पर्नेछ। यसैगरी ४ लाखदेखि ५ लाखसम्म थप एक लाख रुपैयाँको आम्दानीमा १० प्रतिशत कर तिर्नु पर्नेछ। यसैगरी ५ लाखदेखि ७ लाख रुपैयाँसम्म थप २ लाख आम्दानीमा २० प्रतिशत कर तिर्नु पर्नेछ।
साथै ७ लाखदेखि १२ लाख रुपैयाँसम्म थप ५ लाख आम्दानी गर्दा ३० प्रतिशत कर तिर्नु पर्छ। यसैगरी २० लाख भन्दा बढीको रोजगारी आयमा भने ३६ प्रतिशत कर तिर्नुपर्छ।
यसैगरी दम्पती (विवाहितको हकमा) ४ लाख ५० हजार रुपैयाँसम्म १ प्रतिशत कर तिर्नुपर्छ। यसैगरी ४ लाख ५० हजार रुपैयाँदेखि ५ लाख ५० हजार रुपैयाँसम्मको हकमा १० प्रतिशत कर दाखिला गर्नु पर्छ। यसैगरी ५ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्मको हकमा २० प्रतिशत कर तिर्नुपर्छ। साथै ७ लाख ५० हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको करमा ३० प्रतिशत र सो भन्दा माथीकोमा ३६ प्रतिशत कर तिर्नुपर्छ।
उदाहरणका लागि मासिक ५० हजार तलब खाने अविवाहित र विवाहितले कति कर तिर्छन्? हिसाब-किताब हेरौं।
मासिक ५० हजार तलब बुझ्नेको आय वार्षिक ६ लाख रुपैयाँ हुन्छ। ६ लाख बुझ्ने अविवाहित भएको अवस्थामा ४ लाख रुपयाँसम्मको १ प्रतिशतले ४ हजार, ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको १० प्रतिशतले १० हजार र ५ लाखदेखि ६ लाखसम्मको एक लाखको २० प्रतिशतले २० हजार गरी कूल २४ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।
यसैगरी विवाहितले मासिक ५० हजार रुपैयाँका दरले वार्षिक ६ लाख कमाउँदा ४ लाख ५० हजार रुपैयाँसम्मको १ प्रतिशतले ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। यसैगरी ४ लाख ५० हजार रुपैयाँदेखि ५ लाख ५० हजारमा १० प्रतिशतका दरले १० हजार रुपैयाँ र थप ५० हजारको २० प्रतिशतले १० हजार रुपैयाँ गरी कूल २४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्छ।
यसैगरी मासिक १ लाख तलब खानेले वार्षिक १२ लाख तलब बुझ्दा अविवाहितले ४ लाख रुपैयाँसम्मको १ प्रतिशतले ४ हजार, ४ लाखदेखि ५ लाख रुपैयाँसम्म १ लाख रुपैयाँको १० प्रतिशतले १० हजार, ५ लाखदेखि ७ लाख रुपैयाँसम्म २ लाखको २० प्रतिशतले ४० हजार र ७ लाखदेखि १२ लाख रुपैयाँसम्म ५ लाखको ३० प्रतिशतले १ लाख ५० हजार रुपैयाँ गरी कूल २ लाख ४ हजार कर तिर्नुपर्छ।
यसैगरी १ लाख मासिक तलब बुझ्दा वार्षिक १२ लाख तलब लिने विवाहितले ४ लाख ५० हजार रुपैयाँसम्मको १ प्रतिशतले ४ हजार ५ सय रुपैयाँ, ४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्मको १ लाखमा १० प्रतिशतले १० हजार, ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्म थप २ लाखको २० प्रतिशतले ४० हजार र ७ लाख ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म थप ४ लाख ५० हजार ३० प्रतिशतले १ लाख ३५ हजार रुपैयाँ गरी कूल १ लाख ८९ हजार ५ सय रुपैयाँ रोजगारी आयकर तिर्नुपर्छ।
तर, अविवाहितले मासिक ३३ हजार ३ सय रुपैयाँ र विवाहितले मासिक ३७ हजार ५ सय रुपैयाँसम्मको तलबमा भने १ प्रतिशत मात्रै कर तिर्दा पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।