काठमाडाैं- नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले एफटीटीएचमार्फत् आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ।
यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो।
भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।
टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् (ट्रिपल प्ले) को अवधारणा कार्यान्वयनमा आउने भएको हो।
हाल वितरित (एनटी टिभी) सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका टेलिकमकाे भनाइ छ।
यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकहरुलाई उपलब्ध हुने उनकाे भनाइ छ। हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा (एनटी टिभी) सेवा उपलब्ध गराइरहेको छ। वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ।
नेपाल टेलिकमले २०७७ पुष १७ गते (१ जनवरी २०२१) मा सर्वप्रथम एनटी टिभी सेवाको वितरण शुरु गरेको थियो। हाल यो सेवा काठमाडौं उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।