कैलाली- महाकाली नदीमा आएको बाढीले निर्माणाधीन महाकाली पुललाई ठूलो क्षति पुर्याएको छ। दुई साताअघि झण्डै चार करोडको नोक्सानी व्यहोरेका निर्माण कम्पनीलाई थप दुई करोड नोक्सानी भएको आयोजनाले जनाएको छ।
महाकाली नदीमा शनिबार बिहानदेखि आएको बाढीले पुलसम्म पुग्ने पहुँच मार्गमा ठूलो कटानी गरेको छ। नदी किनारदेखि पुलसम्म पुग्न बनाइएको पहुँच मार्गमा भएको कटानीले पुलसँगको सम्बन्ध टुटेको छ।
महाकाली पुल आयोजनाका इन्जिनियर किशोर पाण्डेयका अनुसार दुई दिनको बाढीले पहुँचमार्गको ८० मिटर लम्बाई कटानी र ५० हजार घनमिटर ग्राभेल बगाएको छ। नदीले कटान कार्य जारी राखेको छ। नदीमा पानीको जलस्तर नघटे ठूलो नोक्सानी हुने पाण्डेयले बताए।
तीन साताअघि महाकालीमा आएको बाढीले आयोजनाको कालोपत्रे गर्ने प्लान्ट बगाएको थियो। ‘अस्फाल प्लान्ट’सहित हालसम्म करिब ६ करोडको नोक्सानी गरेको इन्जिनियर पाण्डेयले बताए।
पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको जनाउदै इन्जिनियर पाण्डेयले आगामी असोज महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए। तर, बाढीका कारण भएको क्षतिले पुल निर्माण कार्यमा बाधा उत्पन्न भएको इन्जिनियर पाण्डेयले बताए।
उनका अनुसार पुलमा २ स्ल्याब ढलानका लागि तयारी अवस्थामा थिए भने ४ स्ल्याब तयार हुँदै थिए। ‘६ स्ल्याबको कार्य सकेर असोजभित्रै पुल सञ्चालनको तयारीमा थियौं’ उनले भने।
पुल निर्माण सुरू गरेयता महाकाली नदीले यति नोक्सानी गरेको थिएन। बीच नदीमा ८ सय मिटर लम्बाई रहेको पुलको दुवै (भीमदत्त र दोधारा चाँदनी) तर्फ ६-६ सय मिटर लम्बाई र ५० मिटर चौडाईसहितको पहुँच मार्ग गत वर्ष निर्माण गरिएको हो।
२०७४ भदौ ७ गते ६ लेनको सडकसहित महाकाली नदीमा नेपाल सरकारको लगानीमा ४ लेनको पुल निर्माण कार्य सुरू गरिएको थियो। ३ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी कुमार निर्माण सेवाले ३ अर्ब ६७ करोडको लागतमा ठेक्का सम्झौतामा गरेको थियो। मुआब्जा विवादका कारण आयोजनाको काम प्रभावित भएपछि डेढ वर्ष म्याद थप गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।