मेलम्ची (सिन्धुपाल्चोक)– सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र बाढीको बितण्डाले तहसनहस छ। मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ। हेलम्बुबाट बग्ने मेलम्ची खोलामा पछिल्लो चौबीस घण्टा निरन्तर लेदो बगिरहेको स्थानीयले बताएका छन्।
पछिल्लो समय सुरक्षित मानिएको पर्यटकीय नगरी मेलम्ची भूकम्पपछिको पुनःनिर्माणले आकर्षक स्थानमा परिचित थियो। सिन्धुपाल्चोकको उत्तरीभेगको केन्द्रका रूपमा रहेको मेलम्ची एकै रातको बाढीले बगरमा परिणत गरेको छ। सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् ।
बस्ती र बजार नदीमा मिसिएको छ। केहीको मृत्यु भएको छ, कैयौं हराइरहेका छन् र धेरैका घर, व्यवसाय, खेत सबथोक सखाप भएका छन्। मेलम्चीको अवस्था हेर्दा लाग्छ यहाँ जोगिनसम्भव रहेनछ। तर, यस्तो बितण्डामा पनि ठूलो मानवीय क्षति हुनबाट मेलम्ची बजार र आसपासका धेरै ठाउँ जोगिएका छन्। सम्पति विनाश भएको छ तर त्यसको तुलनामा धेरैको ज्यान जोगिएको छ।
हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ र तटीय क्षेत्रका बस्ती बगरमा परिणत भएका छन्।
तिम्बु बजारमा रहेको प्रहरी चौकीसहित बजारका सबै घर बगाएको इलामा प्रहरी कार्यालय तिम्बुले जनाएको छ। निर्माणाधीन रेडियो मेलम्चीको भवनसहित मेलम्ची बसपार्क क्षेत्रका हजारौँ रोपनी खेतीयोग्य जमिनसमेत बगाएको छ। मेलम्ची–तिम्बु करिडोरका सबै संरचना र खेतीयोग्य जमिन बाढीले बगाएको छ, बगर बनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले उद्धारको काम गरिरहेकोसहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए।
उद्धार गरिएका नागरिकलाई स्थानीय विद्यालयमा राखिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलगायत २५० तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएको खनालले बताए।
यसैबीच, सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले बुधबार नै बाढी पहिरो क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। उनीहरू दुवै सिन्धुपाल्चोकबाट निर्वाचित हुन्।
निरीक्षणका क्रममा सभामुख सापकोटाले बाढी प्रभावित क्षेत्र मेलम्चीमा अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत् र सडकहरू तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अगाडि बढाउनुपर्ने बताए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री तामाङले घर छोडेर आश्रय लिइरहेका नागरिकलाई टेन्ट, स्लिपिङ ब्याग र त्रिपाल, खाद्यान्न सामग्री उपलब्ध गराइएको बताएका छन्।
यसैबीच, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा इन्द्रावती–मेलम्ची क्षेत्र प्राकृतिक विपत् व्यवस्थापन मूल समिति निर्माण गरिएको छ। समितिले तत्काल पीडितको व्यवस्थापनको काम सुरु गरेको प्रमुख तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।