काठमाडौं- सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दै छन्। यसअघि सबै प्रदेशले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिसकेका छन्। असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधानअनुसार सबै प्रदेशले आजै बजेट ल्याउन लागेका हुन्।
प्रदेश १ सरकारले दिउँसो ३ बजे प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दैछ। प्रदेश २ ले दिउँसो ४ बजे, बागमती प्रदेशले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्दैछन्।
गण्डकी प्रदेशले पनि आजै नीति तथा कार्यक्रम पारित गरेर आजै बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। लुम्बिनी प्रदेशमा दिउँसो ३ बजे, कर्णाली प्रदेशमा दिउँसो ४ बजे र सुदूरपश्चिम प्रदेशमा पनि दिउँसो ४ बजे नै बजेट प्रस्तुत हुँदैछ।
सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, संक्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। देशका अधिकांश क्षेत्र महामारीको चपेटामा परेकाले बजेटको प्राथमिकता सोहीअनुसार हुनेछ।
केन्द्रले प्रदेशलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, सशर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाख गरी जम्मा एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ।
यसका अतिरिक्त राजस्व बाँडफाँट र रोयल्टी बाडँफाँटबाट पनि प्रदेशलाई रकम जाने व्यवस्था गरेको छ। यसैगरी, प्रदेशको आफ्नै स्रोतबाट पनि राजस्व परिचालन हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।