काठमाडौं– काटेश्वरमा हुने सवारी जामलाई घटाउनका लागि विस्तार गर्न लागिएको कोटेश्वर–जडिबुटी सडक खण्डको काम यो आर्थिक वर्षमा सम्पन्न नहुने भएको छ।
चालु आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्ने गरी काठमाडौंको कोटेश्वर–जडिबुटी सडक खण्डको वरिपरी ३–३ लेन गरी ६ लेन विस्तार शुरु गरिएको थियो ।
यसै आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिड–१९ को कारणले निर्धारित समयमा काम सम्पन्न नहुने भएको जनाइएको छ । टुन्डी सुसन जेभी निर्माण कम्पनीेले ७ करोड रुपैयाँमा २०७८ सालको असार सम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो।
हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएकोे सडक डिभिजन काठमाडौंका प्रमुख ईञ्जिनियर कुवेर नेपालीले बताए। कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उनको भनाइ छ।
मौसम राम्रो भएमा यसै आर्थिक वर्ष भित्रमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदाको दाहिने तर्फको बिस्तारित ३ लेन बराबर कालोपत्रे गर्ने साथै हरियाली क्षेत्र र फुटपाथ बनाइसक्ने उनको भनाइ छ।
देव्रेतर्फ एउटा नीजि घरको मुआब्जा सम्बन्धी कानुनी समस्याका कारण अल्झिएको काम पनि सक्ने प्रयास हुने नेपालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।