सुदीर्घ राजनीतिको उबडखाबडपूर्ण यात्रापछि कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री हुने पहिलो नेता बनेका छन्। गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भइसक्दा पनि उनी को हुन्? भन्ने जिज्ञासा धेरैमा भेटिन्छ। पहाडी जिल्ला तनहुँमा राजनीतिक सामाजिक आन्दोलनका पर्याय रहेका गोवर्धन पोखरेलका छोरा कृष्णचन्द्रले राजनीतिक करिअरका लागि भने नवलपरासी जिल्ला रोजेका थिए।
त्यो उनको युवा जोश, आवेग र आफ्नो परिचय आफै बनाउने हुटहुटीले हिँडाएको बाटो थियो। वीपी कोइरालाकृत उपन्यास तीन घुम्तीकी पात्र इन्द्रमायाले भनेजस्तै उनको तनहुँ छाड्ने निर्णय त्यही हुटहुटीले उठेको डेग थियो।
राजनीति उनको जीवनमा पारिवारिक विरासत बनेर आएको थियो। त्यो कष्टपूर्ण यात्रामा सहजताको लागि जन्मथलोलाई नै कर्मथलो बनाउने कुरा उनलाई मञ्जुर थिएन। उनका दाजु रामचन्द्र पोखरेल तनहुँ जिल्ला विकास समितिको सभापति र संविधानसभा सदस्य बने। अर्का भाइ जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बने।
पोखरेलबाट ‘नेपाली’
उनले राजनीति सुरु गर्नेक्रममा पहाडी समुदाय बहुल रहेको अहिलेको पूर्वी नवलपरासी नरोजेर हालको पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम रहेको परासीलाई आफ्नो मुकाम बनाए। आफ्नो थर फेरे र कृष्णचन्द्र पोखरेलबाट उनी ‘नेपाली’ बने। के मधेशी के पहाडी सबै नेपाली बराबरी भन्ने समतामूलक सोचका साथ उनले नेपाली थर रोजेका थिए। आफ्नो जीवनको लक्षभेदनका लागि जिल्ला त्यागेर नपुगेका उनले आफ्नो जन्मजात थर समेत त्यागे। यी दुवै निर्णय कुनै लहडी वा संयोगको निर्णय थिएनन्।
कुनै बेला बालकृष्ण शमशेरले 'शमशेर' छाडेर ‘सम’ थर रोजेका थिए। दयावीरसिंह कंसाकारले खोलेको अनाथ, टुहुरा, असहाय र विपन्न बालबालिका पढ्ने परोपकार हाई स्कूलका विद्यार्थीहरूको थर ‘नेपाली’ राखिन्थ्यो। तर, पश्चिम पहाडको परम्परागत बाहुन परिवारमा जन्मेका कृष्णचन्द्रले नेपाली थर संवरण गर्नु खेलाँची थिएन। त्यो उनको क्रान्तिकारी चेतको उपज थियो।
बहुदलकालदेखि गणतन्त्रकालसम्म नेपाली कांग्रेसको जिल्ला सभापति बनेर उनले काम गरे। पुरानो गाविसको संरचनामा समेत जिल्लाभरि उनी नपुगेको कुनै वडा थिएन, छैन। २०४८ सालको आम निर्वाचनमा उनी परासीलाई केन्द्र बनाइएको संसदीय निर्वाचनको उम्मेदवार बने, नेपाली कांग्रेसको तर्फबाट। तर, उनलाई सफलता मिलेन।
लामो रेसको घोडा सानो विफलताले आत्तिने कुरा थिएन। त्यसपछि उनलाई संसदीय निर्वाचनको टिकट प्राप्त गर्न २०७० सालसम्म कुर्नुपर्यो।
पश्चिम नवलपरासीको जातीय संरचना छिचोल्न खोज्दा त्यहाँको परम्परागत शक्ति संरचनाले उनलाई निकै उकुसमुकुस बनायो। त्यसपछि उनले फेरि पूर्वी नवलपरासीलाई आफ्नो निर्वाचन क्षेत्र बनाउने निर्णय गरे। पुरानो नवलपरासी जिल्लामा डाँडावारि र डाँडापारि भन्ने शब्द निकै चर्चित छ। उनले डाँडापारिबाट डाँडावारि साइ सारे। तर, बसाई सारेर जरा गाड्नु पहिले नै अर्को राजनीतिक चुनौती आइलाग्यो।
बीपीपुत्र शशांकका लागि कुर्बानी
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनको दाबा नवलपरासी क्षेत्र नम्बर १ बाट हुनेवाला थियो। तर, पारिवारिक विरासतलाई निरन्तरता दिन चाहेका गिरिजाप्रसाद कोइरालाले देशभरिकै कांग्रेसको ‘सेफ जोन’को खोजी गर्दै जाँदा वीपीपुत्र डा शशांक कोइरालाको लागि नवलपरासी क्षेत्र नम्बर १ रोज्न पुगे। यसकारण कृष्णचन्द्र नेपालीले पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फको टिकट त्याग्नुपर्यो, समानुपातिक उम्मेदवार बन्न उनले नै इन्कार गरे।
आजीवन राजनीति गरेका नेपालीले भर्खरै व्यावसायिक जीवन बिट मारेर राजनीतिमा प्रवेश गरेका डा शशांक कोइरालालाई आफ्नो कर्मभूमिमा स्वागत गर्दै भनेका थिए, ‘कुनै बेला मेरो पिताजी वीपी कोइरालाको आह्वानमा आफ्नो जीवन उत्सर्ग गर्न तयार हुनु भएको थियो, म अहिले उहाँकै छोरा शशांकका लागि मेरो राजनीति समर्पण गर्न तयार छु।‘ त्यो उनको पार्टीप्रतिको त्याग र लगावको द्योतक अभिव्यक्ति थियो।
झण्डै ६ वर्षपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ३ बाट उनले प्रत्यक्षतर्फ नै उम्मेदवारी दिए। तर, झिनो मतान्तरले पराजित हुनपुगे। देश संघीय संरचनामा गइसकेपछि उनले नवलपरासीको कांग्रेसको राजनीतिक खिचातानीमा आफूलाई शालीन राजनीतिज्ञमा रुपान्तरण गर्दै शशांककै छहारी रोज्न पुगे र शशांक उठेको नवलपरासी क्षेत्र नम्बर १ को (क) बाट उनले २०७४ सालको प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिए। त्यसबीचमा उनी नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
बौद्धिक नेताको छबि
जिल्लाको राजनीति गरे पनि कृष्णचन्द्र समसामयिक राजनीति, अन्तर्राष्ट्रिय परिवेश र समाजवादका बारेमा दक्खल राख्ने नेता हुन्। उनी यससम्बन्धी आफ्ना लेख, रचनाहरु जिल्लाका पत्रपत्रिकादेखि काठमाडौंका संचारमाध्यमहरु प्रेषित गरिरहन्छन्। त्यसहिसाबले हेर्दा उनी विचारका समेत नेता हुन्।
साथीभाइ, कार्यकर्ता र जनताका कुरा सुनेर कहिले नथाक्ने उनी बौद्धिक बहसमा हमेशा सहभागी भइरहन्छन्। कांग्रेसनिकट मानिने देशान्तर साप्ताहिक उनको प्रिय लेखन थलो थियो। कार्यकर्ताहरुलाई समाजवादका बारेमा प्रशिक्षण दिनु उनको अभिरुचिको विषय थियो।
मुख्यमन्त्रीको ताज
२०७४ सालमा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिँदै गर्दा उनलाई एक दिन आफ्नै जन्मभूमिसमेत रहेको गण्डकी प्रदेशको मुख्यमन्त्री हुन्छु भन्ने कुनै अनुमान थिएन। तर, २०७७ पुस ५ गते काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि विकसित राजनीतिक घटनाक्रमले उनलाई यो अवसर जुराइदियो।
मुख्यमन्त्री बन्ने योग्यताका रुपमा उनले शुक्रबार गण्डकी प्रदेश सभाका बहुमत ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका थिए। तर, त्यो हस्ताक्षर छिनोफानो गर्न प्रदेश प्रमुख सीता पौडेललाई पूरै २४ घण्टा लाग्यो। अन्ततः उनले शनिबार बेलुकी कृष्णचन्द्रलाई गण्डकीको मुख्यमन्त्रीमा निक्त गरिन्।
केपी ओलीको दिग्विजयमा रोक लगाउने र उनका अराजनीतिक हत्कण्डाहरुलाई छिचोल्दै निर्वाचित तानाशाहीको अवतारलाई पहिलो धक्का दिने मुख्यमन्त्री बन्न पुगेका छन् कृष्णचन्द्र। अर्थात् अत्यन्तै चुनौतिपूर्ण समयमा उनले मुख्यमन्त्रीको ताज पहिरिएका छन्।
संघीय (केन्द्र) सरकारको प्रतिछायाँ मात्र बनिरहेका प्रदेश सरकारहरुलाई केन्द्र सरकारभन्दा अलग हुन् भन्ने अनुभूति दिलाउनेगरी काम गर्नु उनको सबैभन्दा ठूलो चुनौती हुनेछ। संसदीय राजनीतिमा विकृतिको रुपमा रहेका दिपक मनाङे प्रवृतिलाई सरकारमा गराउनुपर्ने बाध्यता उनले पहिलो दिनमै स्वीकार गरिसकेका छन्।
यो सबैका बाबजुद आफ्नो राजनीतिक इमान्दारिता, निष्ठा, त्याग, प्रतिवद्धता र समर्पणले दिलाएको सफलतालाई उनले गण्डकी प्रदेशलाई नमूना प्रदेश बनाउने कार्यमा लगाउन सकून्। प्रदेश सरकार प्रदेश सरकार जस्तो बनोस्। सत्ता टिकाउने नाममा लोकतन्त्रका न्यूनतम मर्यादाहरूको समेत पालना गरुन्। कृष्णचन्द्र नेपालीलाई कार्यकाल सफलताको शुभकामना।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।