काठमाडौं- ‘गुण्डागर्दी’ पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन्।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सोधुपछका लागि लामालाई जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार नियन्त्रणमा लिएको थियो। उनलाई आजै दुई हजार जरिवाना तिराए रिहा गर्न आदेश दिएकाे कास्कीका सहायक सिडिओ कृष्णचन्द्र पौडेलले जानकारी दिए।
गुण्डा नाइके भनेर चिनिएका लामा पछिल्लो समय नेपाली कांग्रेससँग आवद्ध छन्। बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तय भएको थियो।
सोही अनुसार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका उनले विश्वासको मत पाउन सकेनन्। प्रदेशको युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ (दीपक मनाङे) बिहीबार बिहानैदेखि सम्पर्कविहीन भएका थिए।
उनी प्रदेश सभा बैठकमा सहभागी समेत भएनन्।। कतिपयले मनाङे लामासँगै रहेको अनुमान पनि गरेका थिए। तर, कास्की प्रहरीले भने मनाङे सम्पर्कविहीन हुनुसँग लामाको कुनै सम्बन्ध नरहेको दाबी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।