भरतपुर– चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले खड्कबहादुर गुरुङलाई गैंडाकोटबाट पक्राउ गरेको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका–३ ढोडेनीका ३२ वर्षीय सोमा र मीनबहादुर गुरुङ भनिने खड्कबहादुर गुरुङलाई पक्राउ गरिएको हो।
चोरीशिकार नियन्त्रण विशेष टोली, नेपाली सेना र गैंडाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गुरुङलाई पक्राउ गरेको अधिकारीले जानकारी दिए।
उनका अनुसार गुरुङलाई चार वटा चोरीशिकार घटनामा संलग्न रहेको आरोपमा मुद्दा परेको छ । उनीविरुद्ध जिल्ला अदालत नवलपुरमा दुई वटा र जिल्ला अदालत चितवनमा एउटा मुद्दा रहेको छ। विसं २०७७ भदौ १६ र १८ गते भएको गैंडाको चोरी शिकारीमा हतियार उपलब्ध गराउने र आफैँ सुटसमेत गर्ने उनै भएको निकुञ्जको दावी छ । गैंडा चोरी शिकारका लागि गुरुङ ६ पटकसम्म निकुञ्ज प्रवेश गरेको र कम्तीमा चार वटा गैंडा मारेको निकुञ्जले जनाएको छ।
उनको साथबाट बन्दुकमा प्रयोग हुने बारुद १२ पोका, बन्दुकको बेयरिङ १५ थान, भरुवा बन्दुकमा प्रयोग हुने रडसमेत बरामद गरिएको छ।
योसँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले २६ जना तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।