काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले महिलाहरूलाई व्यवसायमा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुका साथै व्यवसाय गर्न पुँजी र बजारको खोजीमा पनि सहयोग गर्ने बताएकी छन्। उनले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको भन्दै यसका लागि आफूले ध्यान दिने बताइन्।
बिहीबार नेपाल उद्योग परिसंघअन्तर्गतको सीएनआई सीईओ फोरमले गरेको भर्चुअल कार्यक्रममा उनले कोभिडका कारण महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरू थप जोखिममा परेको उल्लेख गरिन्। कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै किसिमका दबाबमा महिला एवं बालबालिका पर्न थालेको उनको भनाइ छ।
परिसंघका उपाध्यक्ष एवं सीएनआई सीईओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष निर्वाण चौधरीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउने सम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणा र युनाइटेड इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल वक्ताको रूपमा सहभागी भएका थिए।
'महिलाहरूलाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय सुरु गर्न पुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचका लागि सहयोग आवश्यक छ', मन्त्री चाैधरीले भनिन्।
कार्यक्रममा बन्दना राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू नै रहेको भन्दै अनौपचारिक क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह रहेको बताइन्। उनले कोभिडसँग जुध्न अग्रपंक्तिमा खट्ने जनशक्तिमा महिलाको संख्या ठूलो भए पनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर रहेको उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।