प्रतीकात्मक तस्वीर
काठमाडौं– कोरोना संक्रमणका कारण सरकारले गरेको निषेधाज्ञा समयमा देशभर २ सय लैंगिक हिंसाका घटना घटेका छन्। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानले उक्त तथ्य देखाएको हो।
केन्द्रका अनुसार लैंगिक हिंसाका २ सय घटनामध्ये २४ प्रतिशत महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन्। केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना घटिरहेको बताए।
केन्द्रका अनुसार यसै सातामात्र तीनवटा यौनजन्य हिंसाका घटना घटेका छन्। महिला र बालबालिकामाथि विभिन्न समयमा लैंगिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको सो केन्द्रले जनाएको छ।
गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न ओरेकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।