काठमाडौं- निजी क्षेत्रका छाता संगठनहरूले निषेधाज्ञाको समयमा कर बुझाउन नसकेका व्यवसायीलाई जरिवाना नलगाउन सरकारसँग माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा उक्त माग गरेका हुन्।
बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन संगठनले निषेधाज्ञाका कारण आवागमनसमेत अवरुद्ध हुँदा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतको विवरण र कर रकम बुझाउनसक्ने परिस्थिति नभएको जनाएका छन्। ‘यो विषम् अवस्था समेतलाई मनन गरी कर राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन हामी सरकारसँग अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
साथै, व्यवसाय सञ्चालनमा रहेका र राजस्व बुझाउनसक्ने उद्यमी व्यवसायीलाई गत वर्षजस्तै समयमा राजस्व बुझाएर आफ्नो दायित्व पूरा गरी सरकारलाई सहयोग गर्न अपिल गरेका छन्। अर्थतन्त्रलाई चलायमान बनाउन उद्यमी, व्यवसायी, कामदारलाई कोभिडविरुद्धको खोप सुनिश्चितता गर्नसमेत तीन संगठनले माग गरेका छन्।
‘अर्थतन्त्रलाई कोभिडको जोखिमबाट जोगाइ अगाडि लैजान र बजेटको पूर्णकार्यान्वयन गरी आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, कामदार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने सुनिश्चतता गराउनसमेत हामी निजी क्षेत्रका छाता संस्थाहरू संयुक्तरूपमा नेपाल सरकारसमक्ष आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।