प्रतिकात्मक तस्वीर।
काठमाडौं- महोत्तरीमा लुटेरा समूहले गोली प्रहार गरेर लुटपाट गरेको छ। लुटेरा समूहको गोली लागेर एक जना घाइते भएका छन्।
लोहारपट्टी नगरपालिका-६ बस्ने ४५ वर्षीया गायत्री देवी साह लुटेरा समूहको गोली प्रहारबाट सोमबार राति घाइते भएकी हुन्। रातको समयमा आफ्नो घरमा लुटपा गर्न थालेपछि हो-हल्ला गर्दा उनीहरूले गायत्रीको बाँया खुट्टाको तिघ्रामा गोली प्रहार गरेका थिए।
घाइते गायत्रीलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। गोली प्रहारपश्चात ती व्यक्तिहरूले सुन तथा चाँदीका विभिन्न गहना, नगद २५ हजार रूपैयाँ र २ थान मोबाइल समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल लिई फरार भएका प्रहरीले जनाएको छ।
घटनास्थलबाट कटुवा पेस्तोलमा लाग्ने १ राउण्ड लाइभ गोली र १ राउण्ड खाली खोका प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।