काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियतमा सामान विक्री गर्ने समय परिवर्तन गरेको छ। कर्पोरेशनले मंगलबारदेखि सामान विक्रीका लागि खोलिने आफ्ना विक्री केन्द्रं (आउटलेट) को समय परिवर्तन गरी विहान ७ देखि ९ बजेसम्म बनाएको छ।
यसअघि विहान १० वजेदेखि दिउँसो ३ बजेसम्म विक्री गर्दै आएको भीड थेग्न नसकेपछि समय परिवर्तन गर्नुपरेको कर्पोरेशनले जनाएको छ। कर्पोरेशनले सरकारले घोषणा गरेको २० प्रतिशत छुटमा विभिन्न सामान विक्री गरिरहेको छ।
छुटको सामान किन्नेको भीडले कोरोनाको जोखिम बढेको भन्दै काठमाडौँ जिल्ला प्रसाशन कार्यालयको निर्देशनमा मंगलबारदेखि लागू हुने गरी समय परिवर्तन गरिएको कर्पोरेशनका उपमहानिर्देशक कुमार राजभण्डारीले जानकारी दिए।
कर्पोरेशनले गत शुक्रबारदेखि उपत्यकाका विभिन्न पाँच वटा विक्री केन्द्रमार्फत प्रतिपरिवार (पाँच जनासम्म) का लागि (ग्यास (एसटीसी) एक सिलिण्डर, आटा, तेल, चिनी, नुनलगायतका सामानमा यसअघि विक्री गर्ने मूल्यमा २० प्रतिशत छुटमा विक्री गर्दै आएको छ।
छुटको सामान किन्न कर्पोरेशनका विक्री केन्द्र १० बजे मात्रै खुल्ने भए पनि उपभोक्ता विहानै ८ बजेदेखि लाइन लाग्ने गरेका छन्। कर्पोरेशनले उपत्यकाका कालीमाटी, सतुंगल, जडीबुटी, भक्तपुर र जाउलाखेलबाट उक्त विक्री सेवा दिर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।