काठमाडौं- गणतन्त्र दिवसको अवसरमा बाँकी कैद माफी भएपछि नेता बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन्। मंगलबार बिहान ७ बजे नै उनी डिल्लीबजार कारागारबाट छुटेका छन्।
सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार ढुंगेलसहित ८ सय १६ कैद माफीको प्रस्ताव स्वीकृत गर्नुभएको छ। सोही अनुसार कैदीहरु देशभरीका कारागारबाट बिहानै छुटेका हुन्। डिल्लीबजार कारागारबाट ढुंगेलसहित २६ जना छुटेका छन्। ढुंगेललाई लिन उनका आफन्तहरु कारागार पुगेका थिए।
आइतबारको मन्त्रिपरिषद्को बैठकले कैद माफीसम्बन्धि सिफारिसको निर्णय गरेको थियो।
द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्ध मुद्दा चलेको थियो द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालिन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वाेच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
जसअनुसार गत कात्तिक १४ गते उनी पक्राउ परेका थिए। कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी हुने प्रवाधानअनुसार उनी छुटेका हुन्।
उनको माफीविरुद्ध परेको रिट उपर सर्वाेच्चले सोमबार समेत त्यससम्बन्धि फाइल झिकाउने आदेश दिएको थियो। सर्वाेच्चबाट मुद्दा टुंगिनु अगाडि नै उनी छुटेका हुन्।
असल चालचलन भएको नाममा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी दिने प्रवृत्तीले फौजदारी न्याय प्रणालीकै धज्जी उडाएको भन्दै आलोचना हुँदै आएको छ। त्यसमा पनि कर्तव्य ज्यानजस्तो गम्भीर मुद्दामा समेत कैद माफीको प्रावधान गलत भएको प्रहरी अधिकारीहरु बताउँछन्। यसरी कैद माफी पाएर छुट्नेमध्ये कतिपय फेरि अपराधमा फर्कने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।