काठमाडौं- नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले जोड दिएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित वेबिनारमा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्ध बन्ने बताए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति लिएको बताए। लघु, साना तथा घरेलु उद्योगहरुको विकास, प्रवर्द्धन, सम्वर्द्धनका सन्दर्भमा यसले लिने नीति र कार्यक्रमका सन्दर्भमा विविध आयामका सन्दर्भमा महासंघका पदाधिकारीहरुको सल्लाह सुझावबाट सरकार अहिलेसम्म अगाडि आएको उनले बताए। आगामी दिनमा पनि उद्योगी व्यवसायीहरुका महत्त्वपूर्ण सुझावहरुलाई महत्त्वका साथ लिने भन्दै उनले साना उद्योगको सन्दर्भमा सरकारले ल्याएको बजेटमा पनि महासंघकै सुझावका आधारमा धेरै विषय ल्याएको बताए।
मुलुकको साधन स्रोतको अवस्थालाई हेरेर साना उद्योगका धेरै विषयलाई समेटेर लैजाने प्रयास गरेको भन्दै उनले भने, 'आगामी दिनमा पनि यस्तो प्रयास रहिरहनेछ।’
गत वर्षदेखि कोभिड महामारी सुरु भएयता यस्ता उद्योगको महत्त्व झनै बढेको सचिव पोखरेलले बताए। 'घरेलु उद्योग भनेको स्थानीय कच्चा पदार्थ र प्रविधिमा आधारित भएको, हामीले आफैंले सञ्चालन गर्न सकिने र लगभग बजार पनि हाम्रो आफ्नै भएको हुँदा यसको दिगोपना छ भन्ने बुझेका छौं,’ उनले भने। साना उद्योगसँग सरकार सँगसँगै हिँड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने उनले प्रतिबद्धता व्यक्त गरे।
महासंघका अध्यक्ष श्याम गिरीले धेरै देशको अर्थतन्त्र स-साना उद्योगहरुको प्रवर्द्धनबाट सुरु भएको पाइएको उल्लेख गरे। 'खासगरी एसियाकै दुई मुलुक ताइवान र जापानलाई हेर्यौं भने त्यहाँको मेरुदण्ड भनेकै त्यहाँका ग्रामीण तह र घरमै रहेका साना उद्योगहरुलाई ठूला उद्योगहरुसँग जोडेर आज सफल भएका छन्,’ उनले भने, 'अमेरिककाकै इतिहास हेर्ने हो भने पचास वर्षको दौरानमा अमेरिकाले साना उद्योगको प्रवर्द्धनबाट फड्को मारेको छ। विश्व अर्थतन्त्रको पाँच भागमध्ये डेढ भाग सम्हालेर बसेको अमेरिकाले हाम्राजस्तै स-साना उद्योग एसएमईलाई नै प्राथमिकतामा राखेर त्यही नै अर्थतन्त्रको मेरुदण्ड हो भनेर अगाडि बढाएको छ।’
महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले ३१ वर्षसम्म धेरै आरोह-अवरोह पार गरेको स्मरण गर्दै कोरोना संक्रमणयता साना तथा घरेलु उद्यमी व्यवसायीहरु अत्यन्तै मरमा परेको बताए। यस्तो अवस्थामा देशको मेरुदण्डको रुपमा रहेका घरेलु तथा साना उद्योगहरुलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए।
महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर सुरुआत गरेको महासंघ आज ७७ वटै जिल्लामा पुगेको बताए। अहिले ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा महासंघ पुगेको उनले जानकारी दिए।
उद्यमीहरुका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उनले अहिले पाँच लाखको हाराहारीमा रहेका उद्योगीहरुलाई सरकारले मान्यता दिएर हरेक समितिमा राखेको बताए।
महासंघ केन्द्रीय महिला उद्यमी समितिकी सभापति अञ्जु उपाध्यायले साना उद्यमीहरुको हकहित संरक्षण गर्न जन्मेको महासंघ आज हजारौं उद्यमी व्यवसायीलाई गोलबद्ध गर्दै अगाडि बढिरहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।