काठमाडाैं- राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि (भ्याट) बिल प्रयोग गरी राजस्व छली गर्ने व्यवसायीहरुविरुद्ध १६ करोड ६७ लाख ६० हजार रुपैयाँ विगो दाबीसहित उच्च अदालतमा मुद्दा दायर गरेको छ। विभागले वैशाख २१ देखि जेठ २३ गतेसम्ममा उक्त विगो मागदाबी गर्दै पाँच वटा मुद्दा दर्ता गरेको हो।
विभागले सोमबार जारी गरेको विज्ञप्तिअनुसार जेठ २३ गते झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित एसएन इन्टरनेसनलका सञ्चालक रामनिवास अग्रवालविरुद्ध चार करोड ५२ लाख ४२ हजार रुपैयाँ विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ।
सोही दिन सुनसरीको धरान उपमहानगरपालिका-१२ स्थित ग्लोबल इम्पेक्स इन्टरनेसनलका सञ्चालक किसनकुमार अग्रवालविरुद्ध पनि मुद्दा दर्ता भएको छ। उनीमाथि झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो। उक्त मुद्दामा चार करोड ४२ लाख सात हजार रुपैयाँ विगो कायम गरिएको विभागले जनाएको छ।
त्यसैगरी जेठ २१ गते आयकर छली गरेको अभियोगमा भारतीय नागरिक सत्यनारायण प्रसादविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा विभागले ९९ लाख ७५ हजार ६०० रुपैयाँ विगो मागदाबी गरेको छ।
वैशाख २८ गते पर्साको वीरगञ्जका दीपेन्द्रप्रसाद कलवारसमेत चारजनाविरुद्ध भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्ज मुद्दा दर्ता गरेको विभागले जनाएको छ। उक्त मुद्दामा एक करोड २२ लाख ५० हजार रुपैयाँ विगो मागदाबी गरिएको छ।
वैशाख २१ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ का श्यामकुमार वानियासमेत दुईजनामाथि राजस्व चुहावट गरेको अभियोगमा पाँच करोड ५० लाख ८४ हजार रुपैयाँ विगो दाबीसहित उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरिएको छ।
विज्ञप्तिको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।