काठमाडौं– सरकारले मंगलबार आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।
संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ।
अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐन बमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नेछन्।
संविधान बमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ।
बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विधेयक– २०७५ र राष्ट्र ऋण उठाउने विधेयक–२०७५ पेश गर्नेछन्।
सरकारले ल्याउने उक्त बजेटमा संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले गरेका प्रतिबद्धतालाई मुख्य आधार बनाइएको बुझिएको छ।
कम्युनिस्ट पार्टीको एकल बहुमत रहेको सरकारले पहिलोपटक बजेट ल्याउने भएकाले आज सार्वजनिक हुने बजेटलाई चासोका साथ हेरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।