काठमाडाैं- निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता गर्न सफल भएको बताएकी छन्।
उनले आफ्नो कार्यकालमा व्यक्तिले दूषित् मनसायका साथ आफ्नो नाममा दर्ता गरेर लगेको जग्गालाई फिर्ता गर्ने लक्ष्य लिएको भन्दै त्यस्ता जग्गाहरु फिर्ता लिने काम प्रारम्भ गरेको बताइन्। सुनसरीमा १७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको र काठमाडौंमा पनि अतिक्रमण भएको जग्गा फिर्ता लिने काम अन्तिम चरणमा पुगेको उनको दाबी छ।
‘सुनसरीमा १७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइसक्यौँ। राजधानीको मुटुमा रहेको जग्गा जुन सरकारको नाममा थियो। दूषित् मनसायका साथ विभिन्न व्यक्तिहरुले त्यो जग्गा हडपेका थिए। जग्गा बिक्रीवितरण गरिएको थियो। ती व्यक्तिहरुलाई म्याद तामेलको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। व्यक्तिले अतिक्रमण गरेर लगेको जग्गाहरुको हकमा केही केही जग्गाहरु सरकारको नाममा ल्याउने काम सकेका छौँ। र, अझै पनि छानविन हुँदै छ,’ आइतबार कुरा गर्दै उनले भनिन्।
निवर्तमान मन्त्री तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा जग्गा नापजाँचको नयाँ प्रविधि 'लाइडर प्रविधि' अपनाएको र नारायणीदेखि पश्चिम महाकालीसम्मको भूभागमा नापजाँच गरिसकेको जानकारी दिइन्। मौसमले साथ दिए यसै आर्थिक वर्षभित्र डेटा प्रोसेसिङको काम सकेर त्यसको नतिजा निस्किनसक्ने उनको भनाइ छ।
आगामी आवमा नारायणीदेखि मेचीसम्म नापजाँचको काम हुने कार्यक्रम रहेको उनको भनाइ छ। उनले विभिन्न अनलाइन प्रविधिको सुरुआत गरेको पनि बताइन्। उनले भनिन्, ‘मेरो कित्ता प्रविधि कार्यान्वयन भइसकेको छ। लाइडर प्रविधि, हाम्रो डेटा कलेक्सन गरिसकेपछि त्यो प्रोसेसिङ नेपालमै गर्ने र नेपालमा प्रयोग गरिसकेपछि त्यस्ता कच्चा पदार्थ कसैले हाम्रो डेटा लिएर जान नपाउने गरी यहीँ छोडेर जानुपर्छ भन्नेमा मैले जोड दिएको छु।’
उनले भूमि व्यवस्था मन्त्रालयअन्तर्गत केही केही सेटिङको प्रयास हुने गरेको भन्दै त्यस्तो प्रकारको सेटिङलाई आफूले तोडेकोसमेत दाबी गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।