वीरेन्द्रनगर– जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदाम लाइनमा रहेको मिलन रेस्टुरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ८१ पुरिया ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार होटलमा सल तथा फ्यानमा लुकाइछिपाइ राखेको अवस्थामा खोजतलास गर्दा ८१ पुरिया (सात ग्राम ४५० मिलिग्राम) ब्राउन सुगर भेटिएको थियो।
पक्राउ पर्नेमा अन्दाजी ५२ वर्षीया होटल सञ्चालक महिला विष्णुदेवी शाही, गुराँस गाउँपालिका–५ दैलखका २१ वर्षीया सरु शाही, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका गौरव क्षेत्री र वडा नं ९ निवासी प्रदीप खत्री रहेकोे बताइएको छ।
त्यसका साथै पाँचवटा प्रयोग नभएको नाइट्रोभेट ट्याब्लेट र स्रोत नखुलेको विभिन्न दरका नेपाली र भारतीय नोट तथा पाँच लाख आठ हजार २ सय बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।