काठमाडौं- नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन्।
यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार समझदारीपत्रमा (भर्चुअलरूपमा) हस्ताक्षर गरेका छन्।
साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यमलगायतबाट प्रवर्द्धन गरिने जानकारी दिइएको छ।
‘सहरी बासिन्दाका लागि दिगो सहरी यातायात र वातावरणमैत्री जीवनपद्धतिको छनोट प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियानको शुभारम्भ गत पुस २०७७ बाटै भएको थियो,’ एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुनसक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको ध्येय हो।’
‘विश्व वातावरण दिवस २०२१’को पूर्वसन्ध्यामा हस्ताक्षरित यस समझदारीपत्रअन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक—सामाजिक उत्तरदायित्व (सीएसआर)को हिस्साका रूपमा काठमाडौं उपत्यकाबाहिरका अन्य इच्छुक सहरहरूमासमेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्ने छन्। अभियानले स्वस्थ सहरका लागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्ने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।