बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीले ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २ सय ग्राम चरेसजस्तो देखिने पदार्थ, सात किलो गाँजाको धुलो र एक थान भरुवा बन्दुक बरामद गरेको हो।
विषेश सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुबाट चरेस, गाँजाको धुलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। उनीहरुलाई लागुऔषध र भरुवा बन्दुकसहित पक्राउ गरिएको उनले बताए।
पक्राउ पर्नेमा ढोरपाटन–४ का ३५ वर्षीय जीतबहादुर पुन र सोही ठाउँका ४१ वर्षीय डम्बरबहादुर पुन रहेका छन्।
जितबहादुरको घरबाट गाजाँको धुलो र डम्बरबहादुरको घरबाट चरेसजस्तो देखिने पदार्थ, केही गाजाँको धुलो र एक नाले भरुवा बन्दुक बरामद गरिएको हो।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनीहरुलाई लागुऔषध तथा हातहतियारसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।