काठमाडौं- नेपाल वनस्पति घिउ तेल उत्पादक संघले खाने तेलमा भएको मूल्यवृद्धि कृत्रिम नभएको बताएको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै कृत्रिम मूल्यवृद्धि नगरिएको दाबी गरेको हो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिकै आधारमा आफूसम्बद्ध उद्योगहरूले खाने तेलको मूल्य बढाएको संघको भनाइ छ।
‘हालका दिनहरूमा खाने तेलमा भएको मूल्यवृद्धि सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारहरूप्रति यस संघको ध्यानाकर्षण भएको छ। यसै सम्बन्धमा प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाटसमेत पटक–पटक भएको सोधनीका सम्बन्धमा वास्तविकता देहायबमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘यस संघमा आबद्ध रहेका २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरूले नियमित रूपमा आफ्ना उत्पादनहरू सोयाविन तेल, सनफ्लावर तेल इत्यादि उत्पादन गरी स्थानीय बजारका साथै निकासीसमेत गर्दै आईरहेका छन्,’ संघले भनेको छ, ‘उद्योगहरूलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायतका देशबाट आयात गर्नु पर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको बजारकोसमेत मूल्य निर्धारण हुने गर्दछ।’
विगत करिब १६ महिनादेखि नै विश्वमा फैलिएको कोभिड महामारी तथा अन्य कारणले खाने तेलको मूल्यमासमेत अस्वाभाविक रूपमा वृद्धि हुन गई हालसम्मकै ऐतिहासिक मूल्यवृद्धि भएको संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।