काठमाडौं– नेपाल चिकित्सक संघले अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनालाई गैर–जमानती अपराधका रुपमा लिएर कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनामा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत कानुन ल्याउन पनि संघले आग्रह गरेको छ।
संघले भेरी अस्पतालको घटनामा संलग्न व्यक्तिहरुलाई कडाभन्दा कडा कारबाही गर्न र अबको ७ दिनभित्र अध्यादेशमार्फत कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
संघले भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि आक्रमण भएको जेठ दिन १३ गतेलाई 'कालो दिन'को रुपमा घोषणा गरिएको जनाएको छ।
'विराट मेडिकल कलेज विराटनगरमा घटेको घटना सेलाउन नपाउँदै जेठ १३ गते साँझ भेरी अस्पताल बाँकेमा कोभिड उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको छ,' संघले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'यस्ता आपराधिक क्रियाकलापलाई गैर–जमानती अपराधका रुपमा लिएर संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न अध्यादेशमार्फत यथाशीघ्र कानुन बनाइ सुरक्षाको सुनिश्चित नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।'
कोरोना महामारीको समयमा खटिएका स्वास्थ्यकर्मीलाई उचित प्रोत्साहन नभएको र कार्यस्थलमा असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको पनि संघले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।