काठमाडौं- लागुऔषध चरेसहित बर्दिया प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २६ वर्षीय कमल विश्वकर्मा, सोही ठाउँका ३२ वर्षीय कालीबहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका-८ शितलाबजार बस्ने ४८ वर्षीय बलबहादुर कामी छन्।
उनीहरुलाई इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो।
बर्दिया बढैयाताल गाउँपालिका-३ भोलागौडी मान्झुण्डी सामुदायिक वन नजिकबाट उनीहरुलाई पक्राउ गरिएको बर्दियाका प्रहरी प्रमुख तथा एसपी ईश्वर कार्कीले बताए। उनीहरुको साथबाट ६९४ ग्राम चरेस फेला परेको छ।
कालो रङको झोलाभित्र कालो प्लास्टिकमा लुकाएर बोकेको अवस्थामा उक्त चरेस बरामद भएको हो। पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दामा अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।