काठमाडाैं- नेपाली कांग्रेसका नेता गगन थापाले पीजीको परीक्षा तत्काललाई स्थगित गरेर परीक्षा तयारीमा लागेका चिकित्सकहरुलाई कोभिड महामारीविरुद्धको कार्यमा खटाउन सरकारँग आग्रह गरेको छ। थापाले महामारीमा तोकिएको काम गरेकाहरूलाई पीजीमा आवेदन दिँदा निश्चित अंक थप पाउने नियमको व्यवस्था गरिदिनसमेत सुझाव दिएका छन्।
उनले चिकित्सा सेवा आयोगका उपाध्यक्षलाई भेटेर कम्तीमा ४५ दिनको तयारी समय राखेर नयाँ मिति तोक्ने गरी परीक्षा स्थगित गर्न आग्रह गरिएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
'यही असारमा पीजीको परीक्षा हुन्छ भन्ने ठानेर पाँच हजारभन्दा बढी चिकित्सक जनशक्ति परीक्षाको तयारी गरेर बसिरहेका छन्। तर, अहिले परीक्षा सम्भव छैन। विद्यार्थी अलमलमा छन। यस सन्दर्भमा छिटो निर्णय गर्न चिकित्सा शिक्षा आयोगको उपाध्यक्षलाई भेटेर अनुरोध गरेको छु,' उनले ट्विटरमा लेखेका छन्, 'अबको चार-पाँच महिना परीक्षा हुँदैन, पछि परीक्षा मिति तोक्दा कम्तीमा ४५ दिनको तयारी समय राखेर तोकिनेछ' भनेर निर्णय गरिदिनुस्। यसले अहिले तयारीका लागि बसेका हजारौँ चिकित्सक ढुक्कसँग महामारीको काममा लाग्न सजिलो हुन्छ। उहाँले यो निर्णय केही दिनभित्र गर्ने प्रतिबद्धता जनाउनुभएको छ।'
नेता थापाले थप लेखेका छन्, 'प्रधानमन्त्रीज्यू, आयोगको यो निर्णयसँगै चिकित्सा शिक्षा नियमावलीमा 'महामारीमा तोकिएको काम गरेकाहरूलाई पीजीमा आवेदन दिँदा निश्चित अंक थप पाउने' नियम थपिदिनुस्। सरकारको यो एउटा निर्णयबाट अहिले महामारीको लडाइँमा जनशक्तिको अभावलाई केही कम गर्न ठुलो मद्दत पुग्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।