काठमाडौं- नेपाली सेनाले सञ्चालन गरेको ‘अपरेशन महाहन्ट’ अन्तर्गत विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन्।
शिवुपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ दि फेमस महिन्द्रदल गणअन्तर्गत भइरहेको ‘अपरेशन महाहन्ट ७’ ले कोर इलाका चिलाउनेबाट १५ किलो बँदेलको मासुसहित एक जनालाई पक्राउ गरेको छ।
उक्त गण, सुरक्षा गुल्म सुन्दरीजल र सुरक्षा पोष्ट मुलखर्कबाट खटिएको संयुक्त टोलीले बुधबार काठमाडौं गोकर्णेश्वर नगरपालिका १ चिलाउनेका ५० वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरेको हाे।
बा २९ प १५७९ नम्बरको मोटरसाइकलमा बँदेलको मासु बोकेर सुन्दरीजलतर्फ जाँदै गरेको अवस्थामा धनबहादुरलाई पक्राउ गरिएको सेनाले जनाएको छ। उनलाई कारबाहीका लागि निकुञ्ज प्रशासनलाई बुझाइएको छ।
त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सिद्धिबक्स गणको सुरक्षा पोष्ट चकरी र निकुञ्ज प्रशासन सहितको संयुक्त टोलीले बुधबार नै निकुन्ज अतिक्रमण गरेर घरटहरा बनाएर बस्ने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ३ का ६३ वर्षीय रामलाल थिङ छन्। मकवानपुरको मनहरी गाउँपालिका ३ तल्लो सुकौरामा अवस्थित कमेरो खोल्सा र फरिन खोल्साको वन जंगलमा रुखविरुवा कटान गरी खनजोत गरेर बाली लगाउने र छाप्रो बनाएर निकुञ्जको जंगल अतिक्रमण गरेको पाइएपछि उनलाई पक्राउ गरिएको सेनाले जनाएको छ।
त्यसैगरी, खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सिंह शार्दुल गुल्मको पट्रोल टोलीले बिहीबार छन्ना गाउँपालिका ५ स्थित घोडादाउन्ना पाटन निकुञ्जको कोर इलाकामा अवैध रुपमा जडीबुटी संकलन गरिरहेका ४ जना व्यक्तिहरुलाई पक्राउ गरिएकाे छ।
सतुवा काँचो ३५ केजी, वन लसुन काँचो ८ केजी र गदाल्नो काँचो १.५ केजी जडीबुटीसहित उनीहरुलाई पक्राउ गरिएकाे निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।