सप्तरी– प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ।
घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा ५६ हजार ९६५ नगद, चाँदीको ५४ तोलाका पाँच जोर गरगहना र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। सप्तरीको महादेवा गाउँपालिका–१ घर भएका सरदार सपरिवार धर्मशालामा बस्दै आएका थिए । उनले बुधबार राति घरमा कोही नभएको मौका छोपी चोरी गरेको स्वीकारेका छन्।
स्थानीय जण्डौलचोक बस्ने उर्मिलाकुमारी चौधरी बुधबार घरको कोठाको ताला र कोठाभित्रको दराज फुटाइएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय महुलीमा जानकारी गराएकी थिइन्।
सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको स्वीकार्दैे छतमा सामान लुकाएको ठाउँ देखाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले बताए। उनीविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार उजुरी दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।