काठमाडौं– वन तथा वातावरणमन्त्री प्रेम आलेले मंगलबार डोटी र धनगढीका लागि आफूले ११० अक्सिजन सिलिण्डर खरिद गरेर पठाएको दाबी गरे। चीनबाट अनुदानमा प्राप्त सिलिण्डरमा आलेले आफ्नो तस्वीरसहितको स्टिकर टाँसेर पठाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले १५ वटा सिलिण्डर मात्र स्वास्थ्य मन्त्रालयबाट प्राप्त भएको र बाँकी ११० वटा आफ्नै पैसाले किनेर पठाएको भन्दै 'स्पष्टीकरण' दिएका थिए।
नेपाल लाइभसँग कुरा गर्दै उनले आफ्नो परिवारको छाक काटेर ११० सिलिण्डर खरिद गरेको बताएका थिए।

आलेको विरोध शुरु भएसँगै उनीनिकट व्यक्तिहरुले खरिद गरिएका सिलिण्डरको बिल नै सार्वजनिक गरे। आलेको बचाउमा सार्वजनिक गरिएको त्यही बिलले अर्को तथ्य उजागर गरेको छ।
वनमन्त्री आलेले खरिद गरेको ४० लिटरको अक्सिजन सिलिण्डरको मूल्य प्रतिसिलिण्डर २३ हजार रुपैयाँ परेको बिल सामाजिक सञ्जालमा भाइरल भएको छ।
आलेले विध म्यानेजमेन्ट प्रालिबाट ४० लिटरको सिलिण्डर प्रतिथान २३ हजार रुपैयाँका दरले १३ लाख ८० हजार रुपैयाँमा किनेको र त्यसमा १३ प्रतिशत भ्याट सहित गरि १५ लाख ५९ हजार ४ सय रुपैयाँ भुक्तानी गरेको बिल सार्वजनिक गरेका छन्।
मन्त्री आलेले पनि आफ्नै खर्चमा ११० सिलिण्डर खरिद गरेर धनगढी र डोटी पठाएको बताइरहेका छन्।
उनले भनेजस्तै विध म्यानेजम्यान्टबाट २३ हजार रुपैयाँमा सिलिण्डर खरिद गरिएको हो भने मन्त्री नै सरासर ठगिएको देखिन्छ।
'चीनबाट ल्याएका सिलिण्डरको यहाँ बिक्री गर्ने मूल्य त्यति पर्दै पर्दैन', चीनबाटै ४० लिटरको अक्सिजन सिलिण्डर ल्याइरहेका एक व्यवसायीले नेपाल लाइभसँग भने, 'विध म्यानेजमेन्टले उक्त सिलिण्डर २३ हजार रुपैयाँमा बेचेको भए यो सरासर कालोबजारी हो।'

एक व्यवसायीका अनुसार अहिले १० लिटर र ४० लिटरका अक्सिजन सिलिण्डर तातोपानी नाकाको चीनतर्फको भन्सारबाट क्लियर हुने क्रममा छन्। सिलिण्डर ल्याउने व्यवसायीले नेपाल लाइभसँग भने, 'नेपालको कानूनले दिएको २० प्रतिशत नाफा लिएर भ्याट बिल काटेर सिलिण्डर बेच्दा पनि १६ देखि १७ हजार रुपैयाँ भन्दा बढी मूल्य पर्दैन। विधको सामाजिक सञ्जालमा सार्वजनिक भएको बिल सही हो भने त्यो कालोबजारी हो।'
सिलिण्डर नाकामा आइपुग्ने क्रममा रहेका अर्का एक व्यवसायीले पनि ४० लिटरको अक्सिजन सिलिण्डर काठमाडौंमा आइपुग्दा १३ हजार रुपैयाँ भन्दा बढी नपर्ने ठोकुवा गरे।
‘विधले या त मन्त्रीलाई बिल मात्रै मिलाएर काटेको हो, होइन भने २३ हजार रुपैयाँ कुनै पनि हालतमा पर्दैन’, ती व्यवसायले भने, ‘यो सरासर कालोबजारी तथा ठगी हो। यसको अनुगमन हुनैपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।