काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन्।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले कोभिड १९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्ने गरी काम गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले कोभिड १९ नियन्त्रण सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताहरुको समाधान गरेको भन्दै कोभिड १९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ काम अघि बढाउन निर्देशन दिएका प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए।
बरालले भने, ‘खोपको उपलब्ध गर्नुपर्नेमा जोड दिनुभएको छ। खोप कहाँबाट ल्याउने हो र कसरी ल्याउने हो। नागरिकहरुलाई खोप दिनुपर्छ। खोपको प्रभावकारीता देखिएकोले पहिलो प्राथमिकता भनेको खोप हो। खोपपछि स्वास्थ्य सामाग्रीहरुको अभाव देखिएको छ र ती सामाग्रीहरु पनि नेपाल सरकारले गरेको आव्हान अनुसार विभिन्न देशबाट उपलब्ध भएका छन् र उपलब्ध भएका सामाग्रीहरुको यथार्थ विवरण राखेर समानुपातिक र न्यायपुर्णरुपमा अस्पतालहरुमा वितरण गर्न निर्देशन भएको छ।’
आवश्यक ऐन नियम नभएका कारण समस्या भए पनि अब सबै समस्याको सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्री ओलीले ‘एक्सनमा’ सीसीएमसीलाई निर्देशन दिए।
सार्वजनिक खरिद ऐन र नियमावलिमा देखिएका समस्यालाई सहज गराउन अध्यादेश ल्याइएको र अध्यादेशले सबै बाटो खोलेकाले अब कुनै अलमल गर्न नहुने प्रधानमन्त्री ओलीको भनाइ छ।
कोभिड १९ निर्देशक समितिको पहिलो बैठकमा कोरोना १९ व्यवस्थापन केन्द्रका पदाधिकारीको उपस्थिति थियो। सोमबार सरकारले कोरोना १९ व्यवस्थापन केन्द्रका प्रमुखमा अवकासप्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो। मंगलबारदेखि नै आफ्नो जिम्मेबारी सम्हाल्दै शर्मा बैठकमा सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।