काठमाडौं- कोभिड-१९ महामारीसँग लड्नका लागि सिंगापुरबाट १३ टनभन्दा बढी स्वास्थ्य सामग्री आइपुगेको छ। नेपाल वायु सेवा निगमको चार्टर्ड उडानमार्फत् आइतबार ती स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको हो।
तामासेक फाउण्डेसन सिंगापुर, लोटस लाइफ फाउण्डेसन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाल सरकार, विभिन्न मन्त्रालय, कूटनीतिक नियोगहरू र प्रवासी नेपालीलगायतको सहकार्यमा उक्त सामग्री ल्याइएको हो।
करिब तीन मिलियन सिंगापुर डलर (२५ करोड रूपैयाँ) मूल्य बराबरको स्वास्थ्यसामग्री कार्गो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। सोमबार एक समारोहबीच दुई दाताहरूका तर्फबाट गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए।
हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा एक लाख २३ हजारभन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षण किट, पाँच हजार बाकस (दुई लाख ५० हजार किट) सिटोटेस्ट श्वाब किट्स, २५ सय निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली-भेन्टिलेटर, छ फिलिप्स ट्रिलोजीईभो भेन्टिलेटर, ५० युवेल बाई-पीएपी, नन्-इन्भेसिभ भेन्टिलेटर, चार हजार थान पल्स अक्सिमिटरलगायत रहेको बताइएको छ।
साथै, थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।